PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतले दियो २०० थान किड्नी डायलसिस मेसिन



पहिलोपोस्ट

भारतले दियो २०० थान किड्नी डायलसिस मेसिन

काठमाडौं : भारत सरकारले नेपाललाई २०० थान मिर्गौला डायलसिस मेसिन हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार बिहान एक समारोहकाबीच नेपालस्थित भारतका राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य मन्त्री पदम गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

राजदूत श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा नेपाललाई अहिलेसम्म ९५० एम्बुलेन्स हस्तान्तर गरिसकेको जनाए। उनले अबको दिनमा थप एम्बुलेन्स हस्तान्तरण गर्ने योजनासमेत रहेको सुनाए। 'भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ। छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पुर्‍याउनेछौं,' श्रीवास्तवले भने।

भारतीय सरकार र जनताका तर्फबाट सधै सहयोग आइरहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यो सहयोगका लागि पनि धन्यवाद दिएको थियो।

मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे। 'धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन्। भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुर्‍याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ,' गिरीले भने। उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे। 'भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ', उनले भने। दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो। बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ। उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिइन्।

यसअघि भारतले कोभिड – १९ संक्रमणको संकट र भूकम्पको समयमा पनि सहयोग उपलब्ध गराएको जनाउँदै मन्त्रालयले धन्यवाद ज्ञापन गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell