काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाका प्रतिवादीको बयान लिइरहेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गराएको थियो। केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको थियो।
१२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको थियो। तर जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मात्र मुद्दा दर्ता भएको छ।
घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको थियो। तर उनी विरुद्ध भने अदालतमा मुद्दा दर्ता भएको छैन।
घटनामा प्रहरीले तीन जना खेलाडीलाई पक्राउसमेत गरेको छ। महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। ५ जना प्रतिवादी बनाएरपछि समातिएका तीन जनाको मात्र बयान भइरहेको छ।
पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। स्पट फिक्सिङमा विदेशी खेलाडीको पनि सहभागी देखिएको छ।
सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। प्रहरीका अनुसार फिक्सरहरुले एकै खेलमा पाँच जना खेलाडीलाई स्पट फिक्सिङका लागि 'अफर' गरेको खुलेको छ। जसमा तीनजना नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्।