काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको पलायन रोक्नु चुनौति भएको बताएका छन्। सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा शैक्षिक जनशक्तिलाई देशमा रोक्नुपर्ने बताए।
'विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु,' प्रचण्डले भने।
सरकार निशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारीमा रहेको प्रचण्डले बताए। भने,' सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ।'
वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी दिक्षित विद्यार्थीको काँधमा रहेको उनको भनाइ छ।
'तपाईंहरू आआफ्नो कार्य क्षेत्रमा एक साहसिक र कर्मठ योद्धाका रूपमा निर्भिक र निडरका साथ इमान्दारी र कर्तव्यनिष्ठ भई देशको गौरव, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्ने कार्यमा हरदम प्रयासरत रहनुहुनेछ,' उनले भने।