काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी कार्यालय पेरिस डाँडामा पदाधिकारी बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ। राष्ट्रपतिको निर्वाचनलाई लिएर दलहरुले दौडधुप गरिरहेका छन्। राष्ट्रपतिबारे छलफल गर्नैका लागि आइतवार नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार गएका थिए।
बालुवाटारमा भएको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउन प्रचण्डलाई आग्रह गरेको थियो। प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए। सोही बमोजिम सोमवार माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो।
राष्ट्रपतिमा सत्ता साझेदार दल नेकपा (एमाले)ले पनि दाबी गरिरहेको छ। यसबारे छलफल गर्न प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भेटघाट गरेका थिए।