PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रमोद लक्षित यी स्टाटस : जसले नेपाल उत्रन नपाउँदै सुवास परे प्रहरीको फन्दामा



पहिलोपोस्ट

प्रमोद लक्षित यी स्टाटस : जसले नेपाल उत्रन नपाउँदै सुवास परे प्रहरीको फन्दामा

काठमाडौं : बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी थाइल्यान्डबाट फर्कनेवित्तिकै विमानस्थलमै प्रहरीको फन्दामा परे। अहिले उनी हिरासतमा छन्। 

उनी प्रहरीको फन्दामा पर्नुको कारण हो : गायक प्रमोद खरेलको उजुरी। आफूविरुद्ध जथाभावी लेखेपछि साइबर ब्युरो गुहार्न पुगेका थिए प्रमोद।

प्रमोद र सुवासबिच विवाद यो पहिलोपटक भएको भने होइन। यसअघि पनि खरेल र रेग्मीबिच गीतको प्रतिलिपी अधिकारको विषयमा लफडा परेको थियो। २ वर्षअघि प्रमोदकै उजुरीमा रेग्मीकी श्रीमती लीना शर्मा रेग्मी प्रहरीको फन्दामा परेकी थिइन्। लिना बिन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृतसमेत हुन्।

खासमा प्रमोद र बिन्ध्यावासिनी म्युजिकबिच 'प्रणय' एल्बमको प्रकाशन तथा बिक्री वितरणको लागि पाँच वर्षको सम्झौता भएको थियो। तर, सम्झौता सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा उनीहरुबिचको मनमुटाव भएको थियो। ‘प्रणय’ एल्बमको निर्मातासमेत रहेका प्रमोद गीतको सर्वाधिकार आफूसँग रहेको दाबी थियो।

प्रमोदले एल्बम फिर्ता माग्दा सुवास सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली गर्न उत्रिए। त्यतिमात्रै होइन रेग्मीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिए। साथै एक करोड क्षतिपूर्ति पाउनुपर्ने बिन्ध्यवासिनी म्युजिकको माग थियो। त्यसपछि नै हो खरेलले प्रतिलिपि अधिकार हनन भएको भन्दै उजुरी हालेको। त्यतिबेला प्रमोदको पक्षमा ५७ जना संगीतकर्मीहरुले हस्ताक्षरसहित पत्र प्रहरीलाई बुझाएका थिए। प्रतिलिपि अधिकारको उल्लंघन हुन नदिन र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग थियो। तर, लीला २ लाख ७५ हजार धरौटीमा छुटेकी थिइन्। त्यसपछि यो मुद्दा अदालतमा पुग्यो।

अदालतले मुद्दा जारी भएपनि सुवास भने चुप बसेनन्। उनी प्रमोद खरेलको विरुद्धमा फेसबुकमा जथाभावी लेख्न थाले। साथै आफ्नो विपक्षमा उभिनेहरुमाथि पनि रेग्मीले जवाफी हमला थाले। ५७ जना हस्तारक्षर गरेको फोटो उनको कभर फोटोमा छ। जहाँ लेखिएको छ: म सँगको ब्यक्तिगत इगो साध्न, मेरो निर्दोष परिवारमाथि हात हालेका यी हस्ताक्षरहरु जीवनभर भुल्ने छैन।’

विगत दुई वर्षदेखि उनीहरुको मुद्दा अदालतमा विचाराधीन छ। २ वर्ष पुगेको दिनसमेत सुवासले प्रमोदसहितलाई जथाभवी लेख्न भ्याए। ‘श्रीमान, २ वर्ष अगाडि आजकै दिन हाम्रो परिवारलाई एउटा बौलाहा कुकुरले ५६ वटा भुस्याहा कुकुर समावेश गरेर हमला गर्न आएको थियो। त्यो दुखद कहानीको अन्त्य समय र काल गतिले मात्र हुनेछ,’ गत पुसमा लेखेका छन्।

त्यतिमात्रै होइन रेग्मीले प्रमोद गएको कन्सर्टमा झडप भएको विषयसमेत अनावश्यक रुपमा फेसबुकमा लेखेका छन्। उनले प्रमोदलाई बौलाहा कुकुर भन्दै लेखेका छन्,‘धनकुटामा एउटा बौलाहा कुकुर भुक्दै थियो। १२-१५ जना मान्छे घाइते भएछन्। घरको स्वास्नी बिर्सेर मोडलमा रमाउने काइते चै घाइते भएनछ। बुढो बाऊलाई तारेखमा राखेर आफ्नो अवोध त्यो सन्तानको रोग देखाउँदै, इमोसनल चन्दा सहयोग ऊठाउँदै बाँचेको त्यो भतुवालाई थु थु गरौ। नोट: इमान्दारिता नै सबैभन्दा ठुलो कमाई हो। पनौती ...।'

साथै सुवासले प्रमोदले धरानको कन्सर्टमा घाइते भएकालाई उपचार गर्दिनेबारेसमेत अभिव्यक्ति दिएका छन्।  आफूविरुद्ध खनिएपछि प्रमोद पनि चुप बसेनन् र उनी साइबर ब्युरो पुगे उजुरी लिएर। यही उजुरीका कारण अहिले सुवास हिरासत पुगेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell