काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा आफ्ना लागि यही व्यक्ति भन्ने नभएको बताएका छन्। राष्ट्रिय सहमति हुनसक्ने व्यक्तिलाई राष्ट्रपति बनाउँ भन्ने आफ्नो प्रष्ट मान्यता रहेको प्रचण्डले बताए।
बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने उनको भनाइ छ।
सोमवार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ।’
प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको पनि बताए। भने, ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन। राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ।’