हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वाग्मती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनबाट लामिछाने सभापतिमा निर्वाचित भएका हुन्। दिपक विकले भन्दा ३१ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन्।
कुल खसेको २७९ मतमध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने विकले १२३ मत प्राप्त गरेका थिए। २ मत बदर भएको थियो। आइतबारै राति सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचनमा दिपकले १२३, लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईंले १७ मत प्राप्त गरेका थिए।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
आइतबार साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । यसअघि नैं बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनित सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।
यसैगरि प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।