PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपाल बन्लान् राष्ट्रपति?



प्रकाश भण्डारी

माधव नेपाल बन्लान् राष्ट्रपति?
फाइल फोटो

काठमाडौं : फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको मोननयनको मिति फागुन १३ नजिकिएपछि शीर्ष नेताको दौडधुप बढेको छ। राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा सहमति जुटेको छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरिसकेका छन्।

कांग्रेसले प्रस्ताव गरेको व्यक्तिमा राष्ट्रिय सहमति भए आफूले समर्थन गर्ने प्रचण्डले आश्वासन कांग्रेसका नेतालाई दिएका छन्। राष्ट्रतिबारे तीब्र चर्चा भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिका लागि चर्चामा छ।

एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा आफ्नो दाबी रहेको बताउँदै आएको छ। नेपालले सोमबार अपराह्न प्रचण्डलाई सिंहदरबारमा भेट गरेका छन्। उक्त भेट पनि राष्ट्रपतिकै निर्वाचनमा केन्द्रित भएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए।

नेपाल निकट एक नेताका अनुसार उनी राष्ट्रपतिका लागि तयार भइसकेका छन्। एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा नेपाललाई अघि सार्ने तयारी गरेको छ। ‘प्रचण्डका लागि विश्वासको मत दिने क्रममा हामी सबै एक ठाउँमा भयौं त्यसैगरी प्रस्ताव आयो भने राष्ट्रपति बन्ने भन्ने कुरा छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने।

नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनाल दुबैको नाममा प्रस्ताव आएको ती पदाधिकारीले बताए। तर खनाल भन्दा नेपाल नै राष्ट्रपतिका लागि अघि सर्ने उनको भनाइ छ। ‘तुलनात्मक रुपमा क्राइसिसका बेला सोलुसन ओरियन्टेड काम गरिसक्नु भएको हिसाबले माधव कमरेडलाई सबैको तर्फबाट प्रस्ताव हुन सक्छ कि भन्ने कुरा हो। तर यसैका निम्ति ढोक्सा थाप्ने भन्ने कुरा हुँदैन,’ उनले भने।

एकीकृत समाजवादीले आफ्नो पार्टीको संसदमा राष्ट्रपतिका लागि निर्णायक मत नभए पनि त्यसको भरपुर सदुपयोग गर्ने नीति अघि सारेको छ।

तर नेपाललाई राष्ट्रपति बनाएर पार्टीमा संकट ल्याउन चलखेल पनि उतिकै भएको उनले बताए। ओलीले नै राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्न सक्ने भन्दै राजनीतिक वृतमा चर्चा छ। नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीमा रहेका १० सांसदलाई एमालेमा फर्काउने रणनीतिमा ओली छन्। एकीकृत समाजवादीका सांसद एमालेमा फर्किए प्रतिनिधि सभामा एमाले कांग्रेसकै हाराहारीमा पुग्ने छ। अहिले एमालेसँग ७९ सांसद छन् भने नेपाली कांग्रेससँग ८९ जना सांसद छन्। संसदको सबैभन्दा ठूलो पार्टी बनाउने ओलीको कसरत छ। यदी सबैभन्दा ठूलो पार्टी एमाले बने र प्रचण्ड सरकार ढल्ने स्थितिमा ठूलो दलको हिसाबले ओली प्रधानमन्त्री समेत बन्न सक्ने भन्दै एमालेका नेताले एकीकृत नेपाललाई राष्ट्रपतिका लागि मनाउने प्रयास गरिरहेका छन्।

एकीकृत समाजवादीका ती नेता पनि नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई संकटमा पार्नेबारे आफू सचेत भएको बताउँछन्। त्यसैले पहिला व्यक्तिलाई भन्दा पार्टीलाई राष्ट्रपति पद प्रस्ताव गर्नुपर्ने पक्षमा एकीकृत समाजवादीका नेता छन्।

‘पहिला पार्टीलाई प्राप्त होस भन्ने पक्षमा छौं हामी। पार्टी भित्र पनि नखेलोस् कसैले भन्नेमा हामी सचेत छौं। पार्टीले पाउने अवस्थामा हामी जेएन कमरेडलाई पनि प्रस्ताव गर्न सक्छौं। भोट हाल्नेहरुले पनि व्यक्तिको पनि च्वाइस गर्छन् उनीहरुको पनि कुरा बुझ्नुपर्‍यो। हामीलाई प्राप्त भयो भने को व्यक्ति भनेर सेकेण्डमै निर्णय गर्छौं,’ एकीकृत समाजवादीका ती पदाधिकारीले भने।

प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय सहमति जुट्नसक्ने व्यक्तिको खोजी भइरहेको बताए। कुन व्यक्ति राष्ट्रपति हुन्छ भन्ने अहिले नै तय नभएको उनको भनाइ छ। ‘सहमति खोज्ने भनेका छौं। कहाँ गएर सहमति हुन्छ ठेगान छैन। चर्चा त अहिले धेरै जनाको भइरहेकै छ,’ उनले भने।

एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले पनि राष्ट्रिय सहमति हुने अवस्थामा नेपाल राष्ट्रपतिको उम्मेदवार हुनसक्ने बताइन्। उनले यसअघि राष्ट्रपतिका लागि खनालको नाममा छलफल समेत भएको बताइन्। तर अहिले खनालबारे भने कुनै चर्चा नभएको उनको भनाइ छ।

‘पहिला पनि गठबन्धनले झलनाथ खनाल कमरेडको नाम अघि सारेको थियो। अहिले त त्यस्तो केही छैन। माधव नेपाल कमरेडले राष्ट्रपतिका लागि इच्छा त देखाउनु भएको छैन तर सबैले तपाईँको आवश्यकता हो भन्दाखेरि उभिने कुरा एउटा भयो,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell