- वेदबहादुर खड्का-
परापूर्व कालदेखि नै पूर्वी नेपालको समथर भू-भागमा फैलिएको मूख्यतया सप्तकोशी नदीले बनाएको चर्चित तटीय बगरे घाँसे फाँटालाई अर्ना कुञ्जको नामले चिनिन्थ्यो। समय-समयमा नदीले आफ्नो बहाव धार परिवर्तन गर्दा प्राकृतिक रुपमै नयाँ-नयाँ घाँसे फाँटा, पोथ्रा-पोथ्री वनजङ्गल र नयाँ-नयाँ ताल घोलजस्ता सिमसार क्षेत्र सिर्जना हुनाले अर्नालगायत अन्य कयौं प्रकारका वन्यजन्तुको वासस्थान (घर) बन्न पुगेको थियो सप्त कोशी नदी तटीय क्षेत्र।
यस क्षेत्रमा स्थानीयका घरपालुवा जनावरदेखि अर्नालगायत अनेकौँ प्रकारका वन्यजन्तुको चरिचरन गर्दथे। घर पालुवा भैसीसँगै अर्ना चरिचरन गर्दा अर्नाको शुद्ध वंश रहनेमा शंका पैदा भएपछि नेपाल सरकारले अर्नाको शुद्ध वंश संरक्षण गर्ने हेतुले सप्त कोशीको केही भागलाई समेटेर २०३२ सालमा आरक्षको स्थापना गएपछि यो क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षको नामले चिनिन थाल्यो।
यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ। आरक्षको स्थापना हुनुभन्दा अगाडि त्यस क्षेत्रमा चोरी शिकारीको विगविगी नै थियो।
जैविक विविधता संरक्षणको आँखाबाट हेर्दा आरक्षको स्थापनाले सुनमा सुगन्ध छरेको थियो। जसले आरक्षको सूरक्षा व्यवस्थामा सुधार हुदै गएपछि अर्नामात्र नभई त्यस क्षेत्रको समग्र जैविक विविधताको संरक्षणमा टेवा पुग्दा मृग प्रजातिको संख्या बढ्दै जाँदा आरक्षको आँखा छलेर मृगको चोरी शिकार हुन थाल्यो।
घटना त्यस्तै २०५० साल फागुन अन्तिम साता तिरको हो। त्यतिखेर आरक्षको पूर्वी सिमाना सुनसरी र पश्चिम सिमाना सप्तरीतर्फ भने आरक्षको सिमान (बोर्डर)को नाका-नाकामा आरक्षका सूरक्षा पोष्टहरु थिए। तर, आरक्षको उत्तरमा पर्ने उदयपुर, दक्षिणमा पर्ने सप्तरीतर्फ आरक्षका कुनै पनि सूरक्षा पोष्ट थिएनन्।
यसै मौकाको फाइदा उठाई चोरी शिकारीहरुले आरक्षभित्र सुनसान ठाउँमा मृगको चोरीशिकार गर्दथे। नदी पारी आरक्ष भित्रको बिचोबिच भागमा रहेको खयरघारीमा दिनहुँजस्तो बन्दुक पड्केको आवाज आरक्ष कार्यालय कुशाहा नजिकैको कोशी वाँधमा सजिलै सुनिन्थ्यो।
कोशीवारी आरक्ष कार्यालय र कोशीपारी आरक्षभित्र शिकारीले दिन दहाडै बन्दुक पड्काई वन्यजन्तुको चोरी शिकार गर्थे। म त्यतिखेर कोशीटप्पु वन्यजन्तु आरक्षमा रेञ्जर पदमा कार्यरत थिए।
त्यतिखेर डुङ्गा तरेर आरक्षभित्र गस्ती जानलाई आर्मीले माथिल्लो निकायको आदेश लिनु पर्दथ्यो, आदेश नभई कोशी तर्दैन थिए। आदेश लिँदालिँदै नदी तरेर जाँदा ढिला भई हाल्थ्यो र शिकारीहरु उम्की हाल्थे।
आरक्षले केही गर्दैन भन्ने भान शिकारीहरलाई परिसकेको थियो। दिनहुँ बन्दुक पड्काएर शिकारीले आरक्षलाई गिज्याई रहेका थिए र वन्यजन्तु मारी नै रहेका थिए भन्ने भान उनीहरुले पड्काएको बन्दुकवाट सहजै थाहा लाग्दथ्यो। त्यतिखेर आरक्ष प्रमुख गंगाराम सिंह भएपनि सिंह ४५ दिने वन्यजन्तुको तालिम लिन दिल्ली हिँडेकाले निमित्त कार्यालय प्रमुखमा युगल किशोर ठाकुर थिए।
दिनँहु बन्दुक पड्केको आवाज सुन्दा-सुन्दा वैराग चलेर आउँथ्यो। अब हद भो भनेर निर्णयमा पुग्न पर्ने अवस्था आई लागेकाले हामी आरक्ष प्रशासन कार्यालय र आरक्षको तैनाथको लागि खटिएको वटुकदल गुल्मका गुल्मपति राजेन्द्र सिलवाल भएर छलफल गरी डुङ्गा तर्न गुल्मकातर्फबाट अग्रिम आदेश माथिल्लो निकायबाट लिने गुल्मपतिले भने र त्यहीअनुसार आदेश प्राप्त गरे।
शिकारीले प्रायः गरेर मध्यान्नतिर र बेलुकीपख आरक्षभित्र बन्दुक पड्काउने गर्दथे। शिकारीले बन्दुक पड्काउनु अगावै कोशी तरी घट्नास्थलमा पुग्ने सरसल्लाह भएअनुसार मधुवन सामुन्नेको आरक्षको बिचोबिच भागमा खयरघारीमा यो पंक्तिकार, युगोल किशोर ठाकुर, केही गेमस्काउट र आर्मीसहितको कुशाहाको टोलीले कोसीबाट डुङ्गा तरी गयौं।
त्यतिखेर टेलिफोनको सुविधा थिएन, कार्यालयले आफ्नो दैनिक सेवा सञ्चारको लागि आन्तरिक आवा सेटबाट कुरा गरिन्थ्यो। आरक्षको पश्चिमतर्फ (सप्तरी) पत्थरीमा रहेका रेञ्ज पोष्ट र आर्मी पोष्टलाई पनि घट्नास्थलतर्फ आउन आ-आफ्नो कार्यालयबाट आवासेटबाट आदेश भएपछि पत्थरी रेञ्जपोष्टका रेञ्जर रामलोचनको नेतृत्वमा गेमस्काउटका साथ आर्मीका हवल्दारको कमाण्डमा गस्तीमा खटिई घट्नास्थल पूर्वतर्फ पैदल आउँदै गरेको अवस्था रहेको थियो। यता, कुशाहाको टोली पश्चिमतर्फ घट्नास्थल ताकेर पदैलपैदल काँसघारी छिचोल्दै गएको तर दुई टोलीबीच भने भेटघाट हुन सकेको थिएन।
कुशाहाको टोली कोशी तरेपछि शिकारीको फायर भयो। हामी एक आपसमा छलफल गरी अगाडि शिकारीको ठाउँ पत्ता लगाउन अर्ना हिँड्ने गरेको गोरेटो पच्छ्याउँदै जाँदै थियौं। हाम्रो सुइको पाएर एक जना अन्धाधुन्ध बन्दुक पड्काउँदै जेम्निेष्टिक पाराले उफ्रदै खयरघारीभित्र छिरेर शिकारी हरायो।
त्यस बखत हाम्रो टोलीले पनि फायर खोलेको तर शिकारी तालिम प्राप्त रहेछ, ऊ हावामा उफ्रदै भागेकोले शिकारीलाई गोली लागेन र शिकारी बच्न सफल भएका थियो। त्यस घटनामा हामीलाई पनि केही भएन।
केही समयको अन्तरालमा पुनः शिकारीले खयरघारीवाट पुनः फायर गरी हामीलाई तर्साएको थियो या आफनो साथीलाई म बाँचेको छु भनेर सिग्नल दिएको हुनुपर्छ। तर, आवाज भने टाढाबाट आएको सुनियो। खयरघारी भित्रवाट शिकारीले पुनः फायर खोल्ने शंकाले हामी भित्र छिरेनौँ। भाग्ने शिकारीले रातो पहिरन लगाएको र मान्छे हेर्दा पहाडी मुलकाजस्तो देखिन्थ्यो।
घटनास्थलमा बन्दुक पड्केको आवाज नजिक आउँदै गरेका पत्थरी पोष्टको टोलीले पनि सुनेका थिए तर हाम्रो उनीहरुसँग भेटघाट भएको थिएन। अहिलेको जस्तो त्यतिखेर गस्तीमा जाँदा सम्पर्क गर्ने सञ्चार साधन पनि थिएन।
काँसघारी भित्र काँस हल्लाएर पत्थरी गस्ती टोली मल्याकमुलुक हतारहतार गरेर हिँडेको कुशाहाको टोलीले अलि टाढैबाट देखेर चिनेको थियो। तर, उनीहरुले हामीलाई चिन्न सकेका थिएनन्। किनभने कुशाहाको टोली र शिकारीले गरेको फायर भएको एउटै दिशा/ठाउँ परेकोले पत्थरीको टोली द्वविधामा परेका थिए।
घटनास्थलमा बन्दुक पड्केको कारणले हाम्रो ध्यान त्यतैतिर मोडिएको थियो। तत्काल माहोल यस्तो बन्यो की हामीले चाहँदा नचाहँदै आतेसले भनौ या चोरी शिकारी उफ्रदै भागेको दृश्यले हामीबिच उत्साहित भएर हल्ला हुन गयो र नजिकै आउँदै गरेका पत्थरीको गस्ती टोलीलाई लागेछ, हल्ला गर्ने कुशाहाको टोली नै चोरीशिकार हो भनेर।
काँसभित्र मान्छे छिरेपछि नजिक भए पनि टाढाजस्तो लाग्ने रहेछ। त्यसै भएको थियो पत्थरीको गस्ती टोलीलाई। हामीलाई नदेखे पनि हामीले गरेको हल्ला सुनेका थिए। पक्कै पनि चोरीशिकार हो, त्यही क्षेत्रमा शिकारीले गोली पड्काएको छ भनी कुशाहाको गस्ती टोलीतर्फ पत्थरी पोष्टका गस्ती कमाण्डर हवल्दारले बन्दुक ताकिसकेको अवस्था रहेछ।
उक्त कुरो पछि दुवै टोली भेटघाट भएपछि खुल्यो। पत्थरी पोष्टसँगै आएको कुकुर हाम्रो हल्ला भएको ठाउँमा टुप्पलुक्क आईपुग्यो तर टोली आइपुगेको थिएन। यसो हेर्दा पत्थरीको कुकुर भन्ने ठम्याई भएपछि नजिकै रहेको सिसौको पोथ्रोमा चढेर टोपी (पि-क्याप)हल्लाएर पत्थरीको टोलीलाई सिग्नल दिएपछि कुशाहाको टोली हो, शिकारी होइन भन्ने पत्थरी पोष्टका टोलीलाई लागेर फायर रोकेको रहेछ।
पछि टोली भेटघाट भयो सबै उल्लासमय गफगाफ भयो। तर हामीलाई गोली हान्न ठीक परेका हवल्दार भने नर्भस भएका थिए, उनी खुशी हुन सकेका थिएनन्। किनभने उनले हामीतर्फ ताकिसकेको बन्दुक उनको दिमाखले पड्काई सकेका र भौतिकरुपमा मात्र पड्केको थिएन।
कुन भगवानले बचाए भन्ने सोचेर होला हवल्दार नर्भस भएका वा यदि फायर खोलेको भए आफ्नैबिच को-को मर्ने थिए होला भनेर सम्झेर होला। वा आफूले आफ्नैलाई बन्दुक ताकेको थाह पाए भनेर होला उनी नर्भस् भएका।
दिन भरीको गस्तीटोलीका साथीभाइबिच पनि नबोली एक्लै कल्पनामा डुबेर हिँडेका थिए हवल्दार। दुवै टोली मिलेर चोरी शिकारीले हामफालेको रुख पच्छ्याउँदै जाँदा ३ बोरा जति लगुना मृर्गको हड्डी र भाँडाकुँडा भेटिएको थियो। त्यसपछिका दिनहरुमा आरक्षभित्र बन्दुक पड्केको आवज सुनिएन।
-लेखक चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।