काठमाडौं : नेपालले स्कटल्याण्डविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी नेपाल, नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल फेरि पहिला बलिङमा उत्रिएको हो।
जारी सिरिजका यसअघिका तीन वटै खेलमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जित्दै बलिङ रोजेका थिए। घरेलु मैदानमा जारी सिरिजमा तीनवटा खेल ब्याक-टू-ब्याक जितेको नेपाल लगातार चौथो खेल जित्ने लक्ष्यमा छ।
अर्कोतर्फ लिग २ को च्याम्पियन बनिसकेको स्कटल्याण्ड लिग २ को आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने सोचमा छ। नेपाल र स्कटल्याण्ड यसअघि एकदिवसीय क्रिकेटमा पाँचपटक आमनेसामने भएकोमा नेपालले दुई जित निकाल्दा स्कटल्याण्डले तीन जित निकालेको छ।
नेपाली टोलीमा अघिल्लो खेलमा खेलेको टोलीमा भन्दा एक परिवर्तन छ। गुलसन झाको स्थानमा ललित राजवंशीले टोलीमा स्थान बनाएका छन्।
नेपालको प्लेइङ ११ :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सुन्दिप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललीतनारायण राजवंशी