PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म फूलबारी : मासुको झोल मिसाएको दालभात



लक्ष्मी बलायर

फिल्म फूलबारी : मासुको झोल मिसाएको दालभात

काठमाडौं : इलामको चियावारी क्षेत्र वरिपरिको दृश्य। फिल्मको मुख्य पात्र जयनारायण शर्मा(विपिन कार्की)। जो २७ वर्षीय शिक्षक पेशाबाट अवकाश लिँदैछन्। विद्यार्थीका लागि भनेर उनले छात्रवृत्ति कोषसमेत खोलेका छन्। जयनारायण सहयोगी छन्। श्रीमती लक्ष्मी शर्मा(अरुणा कार्की)सँग उनको विछट्टै माया छ।

यी दम्पतीका तीनै जना छोरा गाउँमै हुर्किए। तर अहिले सबै शहर पुगेका छन्। करियर बनाउन उनीहरु यति व्यस्त छन् कि घर आउन पनि दशैँ कुर्नुपर्छ। जसकारण जयनारायण र लक्ष्मीले सन्तानको साथ पाउन सकिरहेका हुँदैनन्।

पारिवारिक विषयवस्तुमाथि केन्द्रित रहेर धेरै फिल्महरु बने, बन्छन् र बन्ने क्रम जारी रहला। त्यसकै निरन्तरता हो रामबावु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’। त्यसमाथि यस फिल्मको मुलकथा बलिउड फिल्म ‘बागबान’ सँग मिल्छ। ‘बागबान’ मा राजको भूमिकामा देखिएका अमिताभ बच्चनले जसरी आफ्ना सन्तानबाट बेवास्ता भोग्नुपरेको छ। त्यही कहानी दोहोरिएको छ ‘फूलबारी’मा।

बागबान झैं ‘फूलबारी’ले पनि रगतको नाताभन्दा भावनाको नाता बलियो हुन्छ भन्ने धारणा स्थापित गरिदिएको छ। त्यसमाथि जयनारायणले आफूलाई अमिताभ बच्चन भनेको र अर्का पात्र बलिहाङ (दयाहाङ् राई)ले टेलिभिजनमा ‘बागबान’ हेरेर रोएको दृश्यले लेखकले इमान्दारीपूर्वक कथा चोरेको देखिन्छ।

कथामा खासै नयाँपन नभएपनि उपेन्द्र सुब्बाले पटकथामा अथक प्रयास गरेको देखिन्छ। नेपाली समाज र परिवेशलाई निर्देशक गुरुङले पनि आकर्षक तरिकाले पर्दामा उतारेका छन्। त्यसैगरी, फिल्ममा प्रयोग गरिएका संवादहरु मीठा र पेचिला छन्।

ती संवादले दर्शकलाई कहिले हसाउँछ त कहिले रुवाउँछ पनि। 'माया रै'छ र भर रै'छ नि,' गीतको क्लिप हलमा फिल्म लाग्नु अघि नै चर्चित बनिसकेको थियो। गीतले फिल्मका कथालाई सशक्त बनाउन मद्दत गर्छ। यो गीतले पनि दर्शकलाई फिल्म हलसम्म तान्ने वातावरण बनाइदिएको छ।

फिल्मको पहिलो हाफमा कथा र दृश्य लामा छन्। पहिलो हाफमा पात्र निर्माण र जयनारायणका छिमेकी बलिहाङको परिवारको कथा देखाउन फिल्मले बढी समय खर्चिएको छ। दोस्रो हाफबाट भने कथा सलल बगेको छ। त्यस्तै, फिल्ममा केन्द्रीय द्वन्द्व बलियो नहुँदा कथा कसिलो बन्न सकेको छैन। जसले दर्शकलाई खासै ‘एक्साइटेड’ बनाउँदैन।

त्यस्तै, फिल्मले दुई फरक जातीबिचको मित्रता र सम्मानलाई देखाउन सफल भएको छ। फिल्ममा एउटा दृश्य छ : बाह्रमण जातका जयनारायण परिवारसँग दशैँ मनाइरहेका हुन्छन्। सोही दिन बलिहाङ भाले कोशेली लिएर जयनारायणकोमा पुग्छन्। बलिहाङ्को निधारमा सेतो टिका हुन्छ तर, पनि उनी जयनारायणको हातबाट रातो टिका थाप्छन्। बलिहाङको निधारको सेतो अनि रातो टिकाले एकताको सन्देश दिन्छ।

पछिल्लो समय छोराछोरी विदेशिने वा शहर पस्ने क्रम बढ्दो छ। बुढेसकालमा सन्तानसँगै बस्ने आमाबुवाको इच्छा हुन्छ। तर, छोराछोरीहरु भने करियरमा केन्द्रित हुँदा आमाबुवाको समय दिन सकिरहेका हुँदैनन्। जसले उनीहरुबिच असमझदारी बढ्दै गइरहेको छ। ‘जेनेरेसन ग्याब’ ले अभिभावक र सन्तानबिच आउने अझमदारीको कथा हो फिल्म ‘फूलबारी’। कसरी छोराछोरी आफ्नै काममा व्यस्त हुँदा आमाबुवालाई समय दिन पाउँदैनन्? बुवाआमाले एक्लिँदा कस्तो महसुस गर्छन्? यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ।

फिल्मले ‘आफ्नाभन्दा पराई नै काम लाग्छन्’ भन्ने भाष्य निर्माण गरेको छ। परिवारमा मनमुटाव हुँदा जयनारायण र लक्ष्मी अलग्गै बसेका हुन्छन्। तर, त्यही बेला उनीहरुलाई निकै आवश्यकता हुन्छ। आफ्ना सन्तानको साथ नपाएको बेला दम्पतीको जीवनमा सुलोचना (शिल्पा मास्के) को इन्ट्री हुन्छ। सुलोचनाको प्रवेशसँगै सो दम्पतीको समस्या समाधान हुन्छ।

सुलोचना तिनै पात्र हुन्छिन् जसलाई शर्मा दम्पतीले बाटोमा भेटाएका हुन्छन्। दुर्घटनामा आमाबुवाको मृत्यु भएपछि उनीहरुले छोरीसरह हुर्काएका हुन्छन् सुलोचनालाई। तर, केही समयपछि सुलोचनालाई परिवारका सदस्यले लग्छन्। जुनबेला सुलोचना र जयनारायण दम्पति भावुक भएको देखाएको छ। सुलोचनासँगको उनीहरुको सम्बन्ध पर्दामा निर्माण गर्न नसक्दा भावुक दृश्यहरु बनावटीझैं लाग्छन्।

यो फिल्म पितृसत्तात्मक सोचबाट ग्रस्त देखिन्छ। सासु र बुहारीको झगडालाई लिएर फिल्ममा आन्तरिक द्वन्द्व ल्याएको छ। त्यस्तै, फिल्मले धेरै पढेलेखेका छोराछोरी आमाबुवासँग बस्दैनन् र कम पढेकाहरु आमाबुवासँगै बस्छन् भन्ने धारणा विकास गर्छ। किनकी जयनारायणका पढेलेखेका छोराहरु आमाबुवासँग बसेका हुँदैनन् तर, खासै नपढेका बलिहाङलाई भने आमाको हेरचारको लागि शहरसमेत जाँदैनन्।

प्राविधिक हिसाबले फिल्ममा प्रशंसायोग्य काम भएको छ। यस फिल्मलाई अमेरिकी छायाङ्कनकार जोस हेरमले खिचेका हुन्। उनको खिचाईमा खोट लगाउने ठाउँ छैन। त्यस्तै, शैलेश श्रेष्ठ र रोहित शाक्यको 'ब्याकग्राउण्ड स्कोर' पनि सुहाउँदो छ।

फिल्मको अर्को राम्रो पक्ष हो : कलाकारहरुको अभिनय। सम्पूर्ण कलाकारहरुले आफ्नो पात्रमा प्राण भरेका छन। अभिनेता विपिन कार्कीलाई भर्सटायल कलाकारहरुको रुपमा चिनिन्छ। फिल्मलाई काँधमा बोकेर लिएर वुद्ध भूमिकामा देखिएका विपिन फिट छन्। पूर्वेली लवज, शारीरिक हाउभाउ र उनले बोल्ने रमाइला संवादले दर्शकको ध्यान खिच्छ। विपिनले यस फिल्मबाट आफ्नो अभिनय करियरमा इँटा थप्ने काम गरेका छन्।

त्यसैगरि, अरुणा कार्कीको अभिनय पनि उम्दा छ। बुहारीको भूमिकामा देखिएको प्रियंकाको अभिनय पनि सुहाउँदो छ। जेठो छोरा सोमनाथ खनाल, माइला अनुपम शर्मा र कान्छा छोरा मनिष ढकालको चरित्र पनि सुहाउँदो छ। त्यस्तै, छोटो भूमिका भए पनि पशुपति राई, गौमाया गुरुङ र शिल्पा मास्केको अभिनय पनि सशक्त छ। छिमेकीको भूमिकामा देखिएका दयाहाङ फिल्मलाई मिठो बनाएका छन्।

समग्रमा भन्नुपर्दा ‘फूलबारी’ नेपाली मौलिक स्वाद बोकेको पारिवारिक फिल्म हो। पुरानै कथा भएपनि फिल्मले दर्शकलाई दुई घण्टा बाँधेर राख्न सफल भएको छ। कथा अर्गानिक हो, घरघरमा यस्ता कथा छन्। त्यसमा केही स्वाद मिसाएर निर्देशनकले पस्केकामात्र हुन् – जस्तो नियमित खाने दालभातमा मासुको झोल मिसाएजस्तो!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell