काठमाडौँ: नेपाली क्रिकेट टोलीले जितका लागि २ सय १३ रनको लक्ष्य प्राप्त गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो।
सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३१ तथा केल कोएट्जर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा करण केसीले ३ तथा कुशल मल्ल र ललित राजवंशीले समान १ विकेट लिए।नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ। नेपालले आजको खेलमा जित निकाल्न सके सिरिजका चारवटै खेलमा जित निकाल्ने छ। एकदिवसीय मान्यता जोगाउनका लागि सिरिजका ब्याकटूब्याक जितले अंकतालिकामा नेपालललाई राहत मिलेको छ। लिग २ को विजेता भने स्कटल्याण्ड भइसकेको छ। तालिकाको शीर्ष तीन टोलीले विश्वकप क्लालिफायर्स खेल्न पाउने प्रावधान रहेकोमा स्कटल्याण्ड र ओमन यसका लागि छनोट भइसक्दा नामिबिया, नेपाल र यूएई शीर्षतीनको होडमा कायम छन्। एकदिवसीय मान्यता जोगाउनका लागि पनि शीर्ष पाँचमा पर्न नेपाललाई दवाब छ। हाल नेपाल तालिकाको छैटौँ स्थानमा छ।