PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन बुधबारबाट



पहिलोपोस्ट

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन बुधबारबाट

बुटवल : पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन बुटवलमा भोलि (बुधबार) हुने भएको छ। इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको रियालिटी शो को बुटवल अडिसनबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

रियालिटी शो का निर्देशक एलिन श्रेष्ठले बुटवलमा फिल्ड अडिसन बुधवार हुने जानकारी दिए। उनका अनुसार नेपालगन्जमा फागुन ६ गते अडिसन भइसकेको छ भने, फागुन १४ र १५ गते भारतको सिलगुडी, फागुन २० र २१ गते दमक र फागुन २७ र २८ गते काठमाडौंमा हुनेछ।

बुटवलको कान्ति माविमा हुने अडिसनमा शुल्क नलाग्ने निर्देशक श्रेष्ठले बताए। अडिसन दिने प्रतियोगीको उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ। उनका अनुसार फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरू काठमाडौँ गएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।

इन्ट्रा फाउन्डेसनका बोर्ड मेम्बर निस्क शर्माले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ दुवै शो का विजेताले नेपाली एकएक करोड रुपैयाँ पुरस्कार पाउने जानकारी दिए। फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने उनले बताए। ‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्। ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान समावेश छन्। साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहने बुटवल अडिसन संयोजक शिव सुबेदीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell