PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

स्कटल्यान्डमाथि नेपालको कठिन जित : फितलो ब्याटिङ, कप्तानको करणसँग सुझबुझपूर्ण साझेदारी



पहिलोपोस्ट

स्कटल्यान्डमाथि नेपालको कठिन जित : फितलो ब्याटिङ, कप्तानको करणसँग सुझबुझपूर्ण साझेदारी

काठमाडौं : क्रिकेट विश्वकप लिग २ को च्याम्पियन स्कटल्यान्ड लिग २ को आफ्नो अन्तिम खेल पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित निकालेको हो।

नेपाललाई जित दिलाउन कप्तान रोहितकुमार पौडेल नायक रहे। उनले १०१ बलमा ७ चौका र ४ छक्काको सहायतमा अविजित ९५ रन बनाए। त्यस्तै अहम घडीमा साझेदारी गरेका करण केसी ३१ रनमा अविजित रहे। नवौं विकेटका लागि उनीहरुले ७५ रनको साझेदारी बनाए।

फेरि ब्याटिङमै संघर्ष

पछिल्ला तीन खेलहरुमा सानदार ब्याटिङ गर्दै ठूलो लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डविरुद्ध भने २१३ रनको लक्ष्य पछ्याउन संघर्ष गर्‍यो। यो लक्ष्य त्रिकोणात्मक सिरिज नेपालले पाएको लक्ष्यमध्ये सबैभन्दा कम हो।

२१३ रनको लक्ष्य पछ्याएको नेपालले १.१ ओभरमै ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो। त्यस्तै अर्का ओपनर आशिफ शेखले १२ रन बनाउँदा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए।

नेपालको पारि उकास्न कप्तान रोहितकुमार पौडेलले प्रयास गरे पनि उनीसँग ठूलो साझेदारी बनाउन शीर्ष क्रम र मध्यक्रमका अन्य ब्याट्सम्यान असफल रहे। सुन्दिप जोरा १ रनमै पभेलियन फर्किँदा दीपेन्द्रसिंह ऐरीले ७, सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले ९ रनको योगदान दिए।

सन्दीप लामिछाने आउट हुँदा ३१.५ ओभरमा १३८-८ को अवस्थामा रहेको नेपालको पारि उकास्न कप्तान रोहित पौडेलले अलराउन्डर करण केसीसँग साझेदारी गरे।

बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले सर्वाधिक ३ विकेट लिँदा क्रिस ग्रिएभ्सले २ तथा ब्रान्डन म्याकमुलेन, साफ्यन सरिफ र मिचेल लिस्कले समान १ विकेट लिए।

कसिलो बलिङ

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३१ तथा केल कोएट्जर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा करण केसीले ३ तथा कुशल मल्ल र ललित राजवंशीले समान १ विकेट लिए।

अंकतालिका

लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार चारवटा जित निकालेपछि अंकतालिकामा नेपाललाई राहत मिलेको छ। सबै ३६ खेल पुरा गरेको स्कटल्याण्ड यसअघि नै च्याम्पियन बनिसकेको थियो। स्कटल्यान्ड ५० अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको ओमनले पनि सबै ३६ खेल पुरा गरेर ४४ अंक जोडेको छ।

तेस्रो स्थानमा रहेको नामिबियाले ३४ खेलबाट ३७ अंक जोडेको छ। नेपाल सिरिजमा ब्यहोरेको चारवटा हारले नामिबियालाई ठूलै धक्का पुगेको छ। त्यस्तै चौथो स्थानमा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तथा पाँचौ स्थानमा २६ खेलबाट २७ अंक जोडेको यूएई छ।

नेपालले भने यो सिरिजमा ४ खेलबाट ८ अंक थप्दा २८ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छन्। तालिकाको पुछारमा रहेको पीएनजीले २८ खेलबाट ५ अंक जोडेको छ। नेपालले अब यूएई र पीएनजीसँग सिरिज खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell