बुटवल : लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ। गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो। गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ। यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए। गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो। बाँदरले हल्लाउँदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रती कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए। गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ।
मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगर स्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए। उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन्। आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए।