PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपालमाथि प्रचण्ड- ओलीको च्याखे दाउ, राष्ट्रपति देखाएर के गरिरहेका छन् तयारी?



प्रकाश भण्डारी

माधव नेपालमाथि प्रचण्ड- ओलीको च्याखे दाउ, राष्ट्रपति देखाएर के गरिरहेका छन् तयारी?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि अघि सारेको नेताको नाम हो - माधव नेपाल। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपाललाई राष्ट्रपतिका लागि प्रचण्ड-ओलीले नै रणनीतिक रुपमा अघि सारेका हुन्।

नेपालले पनि राष्ट्रपतिमा इच्छा देखाएपछि ओली र प्रचण्डले छुट्टाछुट्टै नेपाललाई भेटेर राष्ट्रपतिको प्रस्ताव गरेका हुन्। राष्ट्रिय सहमति हुने स्थितिमा नेपाल राष्ट्रपति बन्न तयार भएको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए।

एमाले-माओवादी तथा नेपाली कांग्रेसका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने विश्लेषण नेपालको छ। सोमबार सिहंदरबारमा भएको प्रचण्ड- नेपालको छलफलमा समेत राष्ट्रपतिबारे छलफल भएको थियो। नेपालले प्रचण्डलाई राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गराउन आग्रह गरेका हुन्।

राष्ट्रपतिकै विषयमा ओली- नेपालबीच पनि भेटवार्ता भइसकेको ओलीको सचिवालयका एक सदस्यले बताए।

‘आज त त्यस्तो केही भएको छैन। राष्ट्रपतिबारे अध्यक्षले त भेटेर यसअघि नै प्रस्ताव गरिसक्नु भयो तर त्यसका शर्त छन्,’ उनले भने।

नेपालमाथि राष्ट्रपति बनाउन शर्त तेर्साउनेमा ओली मात्रै छैनन्, प्रचण्डले समेत नेपाललाई निःशर्त राष्ट्रपति नबनाउने प्रचण्ड निकट नेताको भनाइ छ।

उक्त प्रस्तावका कारण नेपाल भने अप्ठेरोमा परेको एकीकृत समाजवादीका नेताको भनाई छ। ‘अहिले पार्टी एकता हुँदैन। सैद्धान्तिक रुपले पनि अहिले हुन सक्दैन। कहाँ केपी ओलीको राजतन्त्र ब्युँताउने कुरा कहाँ हामी,’ एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले भनिन्।

उनले एकता गर्ने शर्तमा माधव नेपाल राष्ट्रपति नबन्ने बताइन। ओलीले एमालेका नेताहरुमाथि राष्ट्रिय सहमति नहुने स्थितिमा नेपाललाई राष्ट्रपतिका लागि विकल्पको रुपमा अघि सारेका हुन्। नेपाललाई राष्ट्रपति बनाए एकीकृत समाजवादी पार्टी एमालेमै विलय हुने भएकाले नेपाललाई राष्ट्रपतिमा ओलीले जोड गरिरहेका छन्।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी बनाउने रणनीति अनुसार नै नेपाललाई राष्ट्रपति बनाउने दाउमा ओली छन्। एमालेको प्रतिनिधि सभामा ७९ सांसद छन् भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० सांसदलाई एमालेमा फर्काउन सके कांग्रेसकै हाराहारीमा पुग्ने छ एमाले पनि। जसको प्रत्यक्ष फाइदा आफूलाई हुने बुझाइमा ओली छन्। किनभने प्रचण्डको सरकार ढल्ने स्थितिमा ओली सबैभन्दा ठूलो दलको हैसियमा प्रधानमन्त्री हुनेसक्ने बाटो खुला हुने छ।

प्रतिनिधि सभा विघटनपछि तिक्ततापूर्ण सम्बन्धमा रहेका बेला पनि ओली- नेपालबीच पटक-पटक वार्ता भएको थियो। तर नेपाल एमालेमा फर्कन तयार भएनन्। भने एकता वार्तामा रहेका १० नेता एमालेमै फर्किएका थिए। जस मध्येका एक घनश्याम भुसाल एकीकृत समाजवादीमै आइसकेका छन् भने नेता भीम रावल एमालेभित्र भूमिकाविहीन छन्।

प्रचण्ड प्रधानमन्त्री हुनुअघि नै नेपाल र ओलीबीचको संवादहीनता अन्त्य भइसकेो थियो। तर त्यतिबेला वाम गठबन्धन बनाएर अघि बढ्न सम्भव नभएको एकीकृत समाजवादीका नेताको भनाई छ। एकीकृत समाजवादीभित्र एमालेलाई लिएर दुई धार छन्। वरिष्ठ नेता मुकुन्द न्यौपाने लगायतले एमालेसँगै एकता गर्नसक्ने विचार राखिरहेका छन् भने नेपाल निकट नेताहरु एमालेभन्दा माओवादीसँग निकटको सम्बन्ध राख्नुपर्ने बताइरहेका छन्। सम्मानित नेता झलनाथ खनालले समेत राष्ट्रपतिमा इच्छा व्यक्त गरेको भए पनि ओली- प्रचण्डले उनलाई राष्ट्रपतिमा प्रस्ताव गरेका छैनन्। एकीकृत समाजवादीका नेता भने नेपाल राष्ट्रपतिमा पछि हटे खनाललाई समेत राष्ट्रपति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन्।

ओलीले नेपाललाई नै राष्ट्रपति बनाउन अनौपचारिक छलफल अघि बढाउँदा राष्ट्रपतिको आकांक्षी समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङ भने पार्टीभित्रैबाटै राष्ट्रपतिको उम्मेदवार प्रस्ताव हुने दाबी गरे।

‘सबैलाई मान्य हुने पार्टीले उम्मेदवार अघि सार्छ,’ नेम्वाङले भने।

ओलीले मंगलबार पनि राष्ट्रपतिका लागि विभिन्न दलका नेतासँग अनौपचारिक छलफल गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डसँग समेत अनौपचरिक छलफल भएको छ। तर उक्त छलफलबारे पार्टीमा ओपचारिक ब्रिफिङ ओलीले गरेका छैनन्।

ओलीलेजस्तै राष्ट्रपतिको जाल नेपालमाथि प्रचण्डले पनि फालेका छन्। प्रचण्डले पनि पार्टी एकता हुने शर्तमा नेपाल राष्ट्रपति हुन सक्ने बताएको उनी निकट नेताको भनाइ छ। प्रचण्डले १२ बुँदे समझदारीको पक्षधर नै राष्ट्रपति हुनसक्ने बताइरहेका छन्। प्रचण्डले नयाँ राष्ट्रपतिबाट बाँकी रहेको शान्ति प्रक्रियालाई पूर्णता दिलाउन भूमिकाको अपेक्षा गरेको माओवादी नेताको भनाई छ। नेपाललाई राष्ट्रपति बनाउन सके आफूलाई सहज हुने बुझाइमा प्रचण्ड छन्।

एकीकृत समाजवादी र माओवादी एकताका लागि यसअघि नै वार्ता भएका थिए। तर प्रचण्डले पुस १० मा ओलीसँग सहकार्य गरेपछि एकता प्रक्रिया टुटेको थियो। फेरि पनि पार्टी एकता गर्ने शर्तमा प्रचण्डले नेपाललाई राष्ट्रपतिका लागि उभ्याउने तयारी गरेका हुन्। माओवादीका सचिव गणेश साहले अहिले नै राष्ट्रपतिको उम्मेदवार तय नहुने बताए। ‘१२ गते मात्रै सबैले थाहा पाउनेगरि राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ उनले भने।

माओवादी केन्द्र एमालेले नेपाललाई राष्ट्रपतिका लागि उम्मेदवार बनाएर एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्न लागेको भन्दै सशंकित बनिरहेको छ। एकीकृत समाजवादीलाई माओवादीमै मिसाउनका लागि पनि नेपाललाई राष्ट्रपतिका लागि प्रचण्डले अघि सारेको उनी निकट नेताको भनाई छ। नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा बलियो अडान राखिरहेको छ। कांग्रेसका नेताहरुले राष्ट्रपतिबारे प्रचण्डसँग वार्ता गरिसकेका छन्। प्रचण्ड आफूलाई पाँच वर्षै प्रधानमन्त्री बनाउनेबारे नेपाली कांग्रेससँग वार्ता गरिरहेका छन् भने एकीकृत समाजवादीसँग पार्टी एकताको शर्तमा। एकीकृत समाजवाादीका अधिकांश नेता भने पार्टी एकता मोडालिटी बनाएर तथा कमिटीहरुलाई बराबर हैसियत दिएमात्रै एकता गर्न सकिने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell