PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

घरेलु मैदानमा 'क्लिन स्वीप' दिलाएपछि भावुक बने कप्तान, भन्छन्: करण दाईसँग एकछिन् साझेदारी गरेपछि आँट आयो



मुकुन्द घिमिरे

घरेलु मैदानमा 'क्लिन स्वीप' दिलाएपछि भावुक बने कप्तान, भन्छन्: करण दाईसँग एकछिन् साझेदारी गरेपछि आँट आयो

काठमाडौं: नेपाली क्रिकेट टोलीले नामिबिया र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिजमा आफ्नो चार खेलमध्ये चार वटैमा जित निकाल्दै विश्वकप छनोट खेल्ने र एकदिवसीय मान्यता जोगाउने सपनालाई अझ बलियो बनायो। लिग २ का सात टोलीमध्ये स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ। तर, घरेलु मैदानमा नेपालले स्कटल्याण्डलाई दुई खेलमध्ये दुबैमा हराउन सफल भयो। त्यस्तै यो सिरिज अघिसम्म एकदिवसीय क्रिकेटमा हराउन नसकेको नामिबियालाई पनि हराउन सफल भयो।

नेपालले ब्याक टू ब्याक जित निकालेर 'सिरिज क्लिन स्वीप' गर्दै गर्दा नायकको भूमिकामा प्रस्तुत भए कप्तान रोहितकुमार पौडेल। खासगरी स्कटल्याण्डविरुद्धको मंगलबार सम्मन्न खेलमा टप अर्डर र मिडल अर्डरका ब्याट्सम्यानले रन बनाउन र साझेदारी बनाउन नसक्दा पनि टिकेर नेपाललाई जितसम्म घिसार्न सफल भए पौडेल।

'अन्तिममा चार रन चाहिएको थियो। म र करण दाई एकएक रन गरेर जितौँ भन्ने सल्लाह गरिरहेका थियौँ। तर खुट्टामा बल फालिदियो र ४ रन आयो,' खेलको जितको समयलाई सम्झँदै कप्तान पौडेलले भने, 'त्यतिबेला रिलिफ भयो। रिल्याक्स पनि महसुस भयो।'

रोहित र करणले साझेदारी बनाउनुभन्दा अगाडिका विकेट राम्रो साझेदारी नबन्दै गुमेका थिए। पछिल्ला तीन खेलहरुमा सानदार ब्याटिङ गर्दै ठूलो लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डविरुद्ध भने २१३ रनको लक्ष्य पछ्याउन संघर्ष गर्‍यो। यो लक्ष्य नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले पाएको लक्ष्यमध्ये सबैभन्दा कम हो।

२१३ रनको लक्ष्य पछ्याएको नेपालले १.१ ओभरमै ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो। त्यस्तै अर्का ओपनर आशिफ शेखले १२ रन बनाउँदा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए।

नेपालको पारि उकास्न कप्तान रोहितकुमार पौडेलले प्रयास गरे पनि उनीसँग ठूलो साझेदारी बनाउन शीर्ष क्रम र मध्यक्रमका अन्य ब्याट्सम्यान असफल रहे। सुन्दिप जोरा १ रनमै पभेलियन फर्किँदा दीपेन्द्रसिंह ऐरीले ७, सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले ९ रनको योगदान दिए।

२ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल सन्दीप लामिछाने आउट हुँदा ३१.५ ओभरमा १३८-८ को अवस्थामा रहेको थियो। खस्किसकेको नेपालको पारि उकास्न कप्तान रोहित पौडेलले अलराउन्डर करण केसीसँग साझेदारी गरे।

नेपाललाई जित दिलाउन कप्तान रोहितकुमार पौडेल नायक रहे। उनले १०१ बलमा ७ चौका र ४ छक्काको सहायतमा अविजित ९५ रन बनाए। त्यस्तै अहम घडीमा साझेदारी गरेका करण केसी ३१ रनमा अविजित रहे। नवौं विकेटका लागि उनीहरुले ७५ रनको साझेदारी बनाए।

त्यसअघिसम्म भने निरन्तर विकेट गइरहँदा रोहितलाई लाग्न थालेको थियो: अब भने कठिन हुनेछ।

'पाँच/छ विकेट जाँदा सम्म पनि सक्छु जस्तो लागेको थियो। करण दाई आएर एकछिन साझेदारी गएपछि अब चाहिँ सकिन्छ भन्ने लाग्यो,' कप्तान रोहितले भने, 'यो क्षण मेरो करियरको उत्कृष्ट मध्येको एक क्षण हो।'

क्रिजमा रहँदा करण केसी र उनी बीच बलरले फालेका नराम्रो बलमा मात्र खेल्ने योजना बनाएको उनले सुनाए।

'नराम्रो बललाई हान्ने। ओभर धेरै बाँकी भएकाले अरु बललाई एकएक रन गरेर जोड्ने योजना थियो। रेन्जमा आएको बललाई क्लियर गर्ने अनि सिंगल डबल गर्ने योजना थियो।' उनले भने।

यो सिरिजमा नेपाललाई सबैभन्दा प्लस प्वाइन्ट रह्यो टस। नेपालले चारवटा खेल मध्ये सबैमा टस जितेर फिल्डिङ रोज्यो।

'यहाँ खेल्दा टस एकदमै महत्वपूर्ण हुन्छ। बिहान खेल्दा बलरहरुलाई फेवर गर्छ। टसले ठूलो अर्थ लाग्छ।' उनले भने।

सामान्य लक्ष्य, ठूलो संघर्ष

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३१ तथा केल कोएट्जर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा करण केसीले ३ तथा कुशल मल्ल र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ९५ रन बनाउँदा करण केसीले अविजित ३१ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्लले २१ तथा कुशल मल्लले १७ रन बनाए।

अंकतालिकामा राहत

लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार चारवटा जित निकालेपछि अंकतालिकामा नेपाललाई राहत मिलेको छ। सबै ३६ खेल पुरा गरेको स्कटल्याण्ड यसअघि नै च्याम्पियन बनिसकेको थियो। स्कटल्यान्ड ५० अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको ओमनले पनि सबै ३६ खेल पुरा गरेर ४४ अंक जोडेको छ।

तेस्रो स्थानमा रहेको नामिबियाले ३४ खेलबाट ३७ अंक जोडेको छ। नेपाल सिरिजमा ब्यहोरेको चारवटा हारले नामिबियालाई ठूलै धक्का पुगेको छ। त्यस्तै चौथो स्थानमा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तथा पाँचौ स्थानमा २६ खेलबाट २७ अंक जोडेको यूएई छ।

नेपालले भने यो सिरिजमा ४ खेलबाट ८ अंक थप्दा २८ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छन्। तालिकाको पुछारमा रहेको पीएनजीले २८ खेलबाट ५ अंक जोडेको छ। नेपालले अब यूएई र पीएनजीसँग सिरिज खेल्न बाँकी छ।

कप्तान पौडेलले आगामी ९ खेललाई एकैपटक भन्दा पनि 'वान गेम एट अ टाइम' हेरेर जाने योजना भएको बताए।

'अहिले हामी एकपटकमा एउटा गेमलाई मात्र हेरेर अघि बढीरहेका छौँ। दुबईमा गएर पनि त्यसरी नै खेल्ने हो। सबै फाइनल सरहका खेल छन् हाम्रो लागि। 'ओभर एक्साइटेड' हुनु भएन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell