काठमाडौं: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ सम्म हुने भएको छ । महाधिवेशन धादिङको धादिङ वेशीमा हुने छ । २६ हजार ११८ जना सदस्य रहेको प्रतिष्ठानको महाधिवेशनको सबै तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।
‘खर्च कम गर्नका लागि हामीले महाधिवशेन ३ दिनका लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं । १३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं,’बिजीले भने ।
उनका अनुसार महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् ।
२०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति रहेको छ ।