PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार को?



नेत्र तामाङ

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार को?

काठमाडौं: प्राकृतिक मौसम चिसोबाट तातोतिर लाग्दै गर्दा राजनीतिक वृत्त पनि पछिल्ला दिन राष्ट्रपतिको  चर्चाले गर्माएको छ। आलंकारिक राष्ट्रपतिमा पनि दलहरुबीच तँछाडमछाडको स्थिति सिर्जना भइसक्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मियो बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ‌ओली वरिपरि घुमिरहेका छन्। पाँच वर्षे राष्ट्रपतिका लागि दैनिक नयाँ नयाँ पात्रको नाम चर्चामा आइरहेका छन्।

राष्ट्रपतिको निर्वाचन पूर्व काठमाडौंमा शक्ति राष्ट्रको परेड पनि हेर्न लायक छ। अझ भारतीय प्राध्यापक एसडी मुनीले त चार जनाको नामै सुझाइसके। नेपाल मामलाका जानकार मानिने मुनीले सोमबार ट्वीटरमा देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएका हुन्।

त्यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा काठमाडौं उत्रेका थिए। क्वात्रा दिल्ली फर्केलगत्तै राष्ट्रपतिमा महन्थ ठाकुरको नाम चर्चामा आएको थियो।

मंगलबारबाट लोकतान्त्रिक समाजवादीले आफ्नो अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन औपचारिक प्रयास थालेको छ। ठाकुरलगायतका नेताहरु छलफलका लागि मंगलबार बालुवाटार पुगे। अनि राष्ट्रपतिमा ठाकुरलाई अघि सार्न प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरे।

त्यसअघि नै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएर देउवा बालुवाटार पसिसकेका छन्। अहिले कांग्रेसको भित्री वृत्तमा नेताहरु पौडेल वा सिटौलामध्ये एकको नाम लिइरहेका छन्। तर सिन अझै क्लियर छैन कांग्रेसमा। कांग्रेस संस्थापनइतरका नेताहरु भने कांग्रेसबाटै बन्ने राष्ट्रपतिको उम्मेदवार जित्ने दाबी गरिरहेका छन्।

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनीभूत छलफल गरिरहेका छौं, नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्तिले उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ,’ कांग्रेस नेता डा. शेखर कोइरालाले मंगलबार भनेका छन्।

यद्यपि कांग्रेस नेताहरुको बोली कूटनीतिक छ। 'कांग्रेसले प्रस्तावित गरेको व्यक्ति राष्ट्रपति हुन्छन्' – डा शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दाबी गरेको भनाई यही हो। कांग्रेसले ठ्याक्कै आफ्नो पार्टीको भनेर किन भन्न सकिरहेको छैन? कांग्रेसका उम्मेदवार सशंकित हुने लाइन यही हो।

केहीअघि अमेरिकाबाट उच्चस्तरको तीन भ्रमण भइसक्यो। तीन हप्ताअघिमात्र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं उत्रिएकी थिइन्। दुई दिन काठमाडौं बसेर उनी फर्केको एक हप्तामै युएसएआइडीकी प्रशासक सामन्था पावर काठमाडौं आइन्। लगत्तै अमेरिकाको सहायक विदेशमन्त्री अफरिन अख्तर काठमाडौं आइपुगिन्।

त्यसपछि अहिलेको सत्ताको गठबन्धनमा गढबढ देखिएकाले गत शुक्रबार नेपालस्थित चिनियाँ राजदूत चेन सोङले एमाले अध्यक्ष ओलीसँग भेट गरे। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको ओलीको दाबी छ। तर माओवादी सहजै एमालेलाई राष्ट्रपति दिने पक्षमा छैन। कांग्रेस देखाएर माओवादी बार्गेनिङमा उत्रिएको छ। अझ प्रचण्डले त सोमबार पोखरा पुगेर १२ बुँदे पक्षधर चुनावमा एकै ठाउँमा उभिनुपर्ने प्रस्ताव तेर्स्साए। ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ,' प्रचण्डले माओवादी गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै भने, '१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्ति एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’

एमालेबाट नेपालले नमाने ईश्वर?

माओवादी कांग्रेसतिर ढल्केर राष्ट्रिय सहमतिको उम्मेदवारको पासो फ्याँकिरहेको बेला एमालेले अहिलेसम्म आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम चर्चामा ल्याएको छैन। तर निर्णायक शक्ति मानिने माओवादी अहिले राष्ट्रिय सहमति जुटाउन सक्ने व्यक्तिको खोजीमा लागेको छ। सोमबार पदाधिकारी बैठकले यस्तो व्यक्तिको खोजीका लागि प्रचण्डलाई जिम्मेवारी दिइसकेको छ। सरकारको महत्वपूर्ण पद प्रधानमन्त्री लिइसकेकोले माओवादीले राष्ट्रपतिमा दाबी गर्न सकिरहेको छैन।

माओवादीले राष्ट्रपतिका लागि कांग्रेसको पनि साथ खोजेपछि एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम अगाडि सारिसकेको छ। झन्डै दुई तिहाइ नजिकको सरकारको नेतृत्वको सत्ताबाट ढालेपछि कुनै बेला माधव नेपालको नाम लिँदा मुखै कुल्ला गर्ने ओलीको आकस्मिक प्रस्तावले कांग्रेस झस्किसकेको छ।

एकीकृत समाजवादीका अधिकांश नेता एमालेमै फर्कन खुट्टा उचालिरहेका बेला नेपाललाई राष्ट्रपति प्रस्ताव गर्दा ओलीका लागि फाइदाकै व्यापार हुने देखिन्छ। जसले गर्दा एकीकृत समाजवादी एमालेमा विलय भए दुई दुई पटक संसद् विघटन गरेर आलोचित बनेका ओलीको हाइट एमालेमा ह्वात्तै बढ्न देखिन्छ।

यद्यपि राष्ट्रपतिका लागि दक्षिण र उत्तरको हावा कुनको झोक्का बढी लाग्ने हो त्यसमा पनि भर पर्ने देखिन्छ। माधव कांग्रेस नेतृत्वको पाँच दलमा छन्। उनले यो कुरा नमाने एमालेले अर्कै उम्मेदवार अघि सार्ने तयारी भएको बताइएको छ।

यसको लागि अहिलेको उपयुक्त उम्मेदवार हुन् पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। अहिले एमालेमा ‌ओलीपछिका कोही शक्तिशाली नेता छन् भने त्यो पोखरेल नै हुन्।

ओलीको हर कदममा काँध थाप्ने नेता पोखरेल चुनावमा पराजित भएयता पदको बार्गेनिङमा छन्। ‌ओलीले संसद् विघटन गरेको समयमा होस् या रक्षा मन्त्रालयबाट विना विभागीय मन्त्रालयमा तान्दा –पोखरेल साथमै रहे।

अझ अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैभन्दा बढी डिफेन्स गर्ने नेता पनि पोखरेल नै हुन्। त्यसैले पनि नेपालपछिको अप्सनमा ओलीले पोखरेलको नाम राखेका छन्। ईश्वरलाई अघि सार्दा आफ्नो पोल्टाको सांसद पनि नगुम्ने बुझाइ एमालेको छ।

एमालेले नेपाल अघि बढाए कांग्रेसको उम्मेदवार डा बाबुराम?

राष्ट्रिय प्रजातन्त्र दिवसको साँझ कांग्रेस सभापति शेरबहादुर आफ्नो केही विश्वासिला पात्र लिएर बालुवाटार पुगेका थिए प्रधानमन्त्री प्रचण्डलाई भेट्न। उक्त भेटमा कांग्रेसबाट राष्ट्रपतिको चर्चामा रहेका पौडेल र सिटौला पनि सहभागी थिए। देउवाले प्रचण्डलाई राष्ट्रपतिमा सघाउन प्रस्ताव गरे पनि जवाफ सकारात्मक भने आएन। कांग्रेसमै पौडेल सिटौलालाई रोक्न चाहन्छन् भने सिटौला पौडेललाई।

यता पार्टीमा छलफल गरेर निर्णय दिने वचन दिएका प्रचण्डले ओलीको डर पनि देखाइदिए देउवालाई।

देउवालाई ओली देखाएर, ओलीलाई देउवा देखाएर दुईतिर खेलिरहेका प्रचण्डको पासो हो - राष्ट्रिय सहमतिको उम्मेदवार।

राष्ट्रिय सहमतिको उम्मेदवार को त?

अहिलेसम्म सिनमा छैन यस्तो उम्मेदवार।

तर कांग्रेसकै केही नेताहरु डा बाबुराम भट्टराई यसको सिनमा आउन सक्ने उम्मेदवार भएको दाबी गर्छन्। 'प्रचण्डलाई निर्वाचन क्षेत्र छाडेको, पछिल्लो समय कांग्रेसको लाइनमा बोल्न थालेका नेता उनै बाबुराम हुन्,' कांग्रेसका एक नेताले भने, 'त्यसैले प्रचण्डले बाबुराम अघि बढाए राष्ट्रिय सहमति जुट्न सक्छ।'

जुनसुकै विषयमा तुरुन्तै टिप्पणीमा उत्रने बाबुराम पछिल्लोसमय राजनीतिक टिप्पणीमा संयमता अपनाइरहेका छन्। बाबुरामको यो मौनतालाई बलियो अस्त्रका रुपमा लिन्छन् ती कांग्रेस नेता।

माओवादीका एक नेताले दक्षिणले रुचाउने पात्र बाबुराम नै भएकोले एमालेले नेपाललाई अघि बढाएको अवस्थामा कांग्रेसले बाबुरामलाई बोक्न बाध्य हुने दाबी गरे।

'अहिले दक्षिणी शक्तिले महन्थ ठाकुरलाई अघि बढाएर गएको छ। राजनीति हात्तीको दाँतजस्तै हो। एमालेले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए कांग्रेसले समेत बाबुरामलाई समर्थन गर्ने देखिन्छ,' ती नेताको दाबी रह्यो।

नयाँ पार्टी खोल्ने अभियानमा लाग्दा रित्तो बनेका बाबुराम १२ बुँदे समझदारी पक्षधर पनि हुन्। यसो त राष्ट्रपतिबाट बेलाबेला झस्का पाएर तर्सिएका प्रचण्डका लागि बाबुराम सजिला पात्र पनि हुने बताइन्छ। राष्ट्रपतिमा मौका आए आफू जिम्मेवारी बोक्न तयार रहेको बताउँदै आएका छन् बाबुरामले पनि।

मंगलबारमात्रै सिन्धुलीमा कांग्रेस नेता कोइरालाले दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि बताए। यता कांग्रेस वरिष्ठ नेता पौडेलनिकट नेता पनि उम्मेदवारी मनोनयनका दिनमात्र केही सिन क्लियर हुने दाबी गर्छन्।

'अहिले कांग्रेसबाट नै पौडेलको नाम क्लियर छैन। मनोनयनको दिनमात्र पात्र क्लियर होला,' ती नेताले भने, 'राष्ट्रपतिको उम्मेदवारबारे यसै भन्न मुस्किल छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell