PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

मकवानपुर गोल्डकपले आज पाउँदैछ नयाँ विजेता, उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्दै



पहिलोपोस्ट

मकवानपुर गोल्डकपले आज पाउँदैछ नयाँ विजेता, उपाधिका लागि मनाङ र हिमालयन शेर्पा भिड्दै

हेटौंडा : हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा जारी पाँचौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम भिडन्त बुधवार हुँदैछ। ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी उपाधिका लागि हिमालयन शेर्पासँग भिड्दै छ।

गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा मनाङ र हिमालयन शेर्पा दुवै पहिलो पटक उपाधि भिडन्तका लागि तयार भएका छन्। २०६४ सालमा दोस्रो जनआन्दोलन शहीद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगिता थ्रीस्टारले जितेको थियो। प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा जिल्ला फुटबल संघले गरेकोमा आयोजक मकवानपुर विजयी बनेको थियो। त्यसपछिका दुई गोल्डकप उपाधि विभागिय टोली त्रिभुवन आर्मीले जितेको छ।

डिफेन्डिङ च्याम्पियन आर्मी क्वाटरफाइनलबाटै बाहिरिएसँगै मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ। मनाङ वा हिमालयनको नाममा नयाँ इतिहास रच्ने सुनौलो मौका बनेको छ।

रंगशालामा मंगलवार भएको पत्रकार सम्मेलनमा मनाङ र हिमालयन दुवैले उपाधि जित्ने दाबी गरे। हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। हिमालयनका केही खेलाडी घाइते भएपनि फाइनल खेल्न समक्ष रहेको श्रेष्ठको भनाइ छ।

हिमालयनका कप्तान विश्वास श्रेष्ठ घाइते छन्। उनको सेमिफाइनल खेलमा एपीएफसँग खेल्दा लडेर हातमा चोट लागेको थियो। घाइते भएपनि फाइनल खेल्न सकिने कप्तान श्रेष्ठले बताए।

राष्ट्रिय टिमका गोलरक्षकसमेत रहेका मनाङका कप्तान दिप कार्कीले उपाधि जित्न सक्षम भएको बताए। उनले मनाङसँग युवा खेलाडीहरु धेरै रहेको बताए।

मनाङसँग बार्सिलोना एट्लेटिकका पूर्व डिफेन्डर सेनेगलका दिवान्दु डियाग्ने नियाङ र उज्वेकिस्तानका खेलाडी सिडजामोल डेबुलेशन जस्ता अनुभवी खेलाडी छन्।

हिमालयन शेर्पाले क्यामरुनी टोली एभिनियर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। हिमालयनसँग पनि माउसालगायतका नेपालमा यसअघि विभिन्न प्रतियोगिता खेलिसकेका दुई अफ्रिकन खेलाडी छन्।

बलियो टिम एभिनियरलाई हराएको हिमायलनले मनाङलाई कमजोर प्रतिस्पर्धी नमानेको प्रशिक्षक श्रेष्ठले बताए। मनाङसँग राम्रो टिम रहेको उनको भनाइ छ।

नेपाली फुटबलमा मनाङ र हिमालयन शेर्पाको प्रतिस्पर्धा भने रोमाञ्चक छ। विगतका प्रतिस्पर्धालाई हेर्दा हिमालयन शेर्पाको स्थापना र उसले माथिल्लो डिभिजनमा खेल्न थालेदेखि मनाङको बलियो प्रतिद्वन्द्वी भएर अगाडि आएको छ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell