कास्की : कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा बुधवारदेखि सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो।
माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी सहभागी हुने एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए।
यसवर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर आठ लाख रुपैयाँ पुर्याइएको छ। प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।