काठमाडौं : प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपति निर्वाचनमा विदेशिको हस्तक्षप बढेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनलाई बोल्न समय दिएका थिए। नेपालका राजनीतिक दल राष्ट्रपति छान्नका लागि गृहकार्यमा रहेका बेला भारत लगायतका देशको चासो बढेको उनको ठम्याइ छ। राष्ट्रपतिबारे भारतका विज्ञले ट्वीट गरेको भन्दै पन्तले आपत्ति जनाएका हुन्।
के भनेका थिए एसडी मुनीले?
नेपालबारे जानकार मानिने भारतीय वुद्धिजिवि एसडी मुनिले ट्वीट गर्दै राष्ट्रपतिका लागि ४ जनाको नाम सुझाएका थिए। जसमा देवन्द्रराज पाण्डे, लोकराज बराल, अनुराधा कोइराला र दमननाथ ढुंगाना राष्ट्रपतिका लागि योग्य पात्र भएको मुनीको सुझाव थियो। ट्वीटपछि नेपाल र भारतमा नेपालको राष्ट्रपतिको चुनावलाई लिएर चर्चा बढेको थियो।
मुनीले गरेको ट्वीटप्रति आक्रोश व्यक्त गर्दै पन्तले राष्ट्रपतिको निर्वाचनअघि विदेशबाट कुटनीतिक भ्रमण भएको र त्यसले हस्तक्षेप बढाएको टिप्पणी गरेका हुन्। 'हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा विदेशको एउटा प्रोफेसरले हाम्रा पूर्व राजदुतको नाम। पूर्व सभामुखको नामलगायत ३/४ जनाको नाम यिनीहरु राष्ट्रपति हुनका लागि उपयुक्त हुन्छ भनेर भने। कस्तो दिन आयो?,' पन्तको भनाइ छ।
'भारतको विदेश सचिव आउछन् प्रधानमन्त्रीलाई भेटछन्'
नेपालका राजदुतले भारत लगायत देशका विदेश मन्त्रीसँग भेट्न सजिलो नहुने भए पनि भारतको विदेश सचिव आएर प्रधानमन्त्रीसम्मलाई सजिलै भेटेको भन्दै बिरोध गरेका छन्। 'हाम्रो मन्त्री स्तरको राजदुत हुनुहुन्थ्यो निलाम्बर आचार्यजी उहाँलाई भारतको विदेशमन्त्रीसँग भेटनलाई ताकेता गर्दा पनि मुस्किलले भेट हुन्थ्यो। तर राष्ट्रपतिको चुनाव अगाडी भारतको विदेश सचिव आउँछन् प्रधानमन्त्री, परराष्टमन्त्री सबैलाई भेटछन्,' पन्तले भने, 'उनले म प्रधानमन्त्रीलाई निम्ता दिन आएको भने हुन्थ्यो नि परराष्ट्र सचिवलाई।'
विदेशीको भ्रमण नियमन गर्न माग
एमालेका तर्फबाट समानुपातिक सांसद रहेका पन्तले परराष्ट्र मन्त्रालयले विदेशी पाउनाको भेटघाटलाई नियमन गर्न माग गरे। 'राष्ट्रको सम्मानको कुरा हो हाम्रो विदेश सचिव भारत जाँदाखेरी यही खालको ट्रिट पाउँछ? म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु। यो राष्ट्रिय सम्मानको कुरा हो। कसैको गुलामी नबनेको स्वतन्त्र देशको राष्ट्रपतिको नाम ट्वीटमा हेर्नुपर्ने?,' उनको प्रश्न छ।
विदेशीको चासो बढ्दो
राष्ट्रपतिको निर्वाचनलाई लिएर भारत, चीन र अमेरिका लगायतका देशले नेपालप्रति चासो बढाएका छन्। तीन हप्ताअघि मात्र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं उत्रिएकी थिइन्। दुई दिन काठमाडौं बसेर उनी फर्केको एक हप्तामै युएसएआइडीकी प्रशासक सामन्था पावर काठमाडौं आइन्। पावर नेपाललाई साढे सात अर्ब सहयोगको घोषणा गरेर फर्किन्।
सोमबार फेरि अमेरिकाको सहायक विदेशमन्त्री अफरीन अख्तर काठमाडौं आइपुगेकी छिन्।भारतीय विदेशसचिव विनयमोहन क्वात्रा पनि काठमाडौं आएका थिए। शीर्ष नेतादेखि राष्ट्रपतिसम्म क्वात्राले भेटेका थिए। फागुन ५ मा ओलीसँग बालकोटमा नेपालका लागि चिनियाँ राजदूत चन सोङले भेट गरेका थिए।