काठमाडौं : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गरिएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधवार मातादाता नामावाली प्रकाशन गरेको हो।
यस नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्। प्रकाशित नामावलीमा भोलि दाबीविरोध गर्न सकिने र नाम सच्याउन सकिने समय दिइएको छ। शुक्रवार कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रतिसदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ रहेको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ।