
हेटौंडा : पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङदीले जितेको छ। हेटौंडा–४ स्थित पिप्ले क्याम्प रंगशालामा बुधबार भएको फाइनलमा हिमालयन शेर्पालाई १–० ले हराउँदै मनाङ च्याम्पियन बनेको हो।
मनाङलाई उपाधि दिलाउन रोशन राना मगर एकमात्रै गोल काफी बन्यो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७८ औँ मिनेटमा रोशनले हानेको बलले विपक्षी हिमालयन शेर्पाको गोल पोस्टको भित्री जाली चुमेपछि खेलमा रौनकता थपिएको थियो। बाँकी समयमा थप गोल हुन सकेन। रोशनकै गोल जितको लागि निर्णायक बन्यो।
उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेताले १० लाख पाएको छ। प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए। टाइटलसँगै उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पारे। यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए। उनीहरुले जनही २५–२५ हजार हात पारे।