PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रपतिबारे ओली र नेपालबिचको 'वान अन वान' वार्ताबारे एकीकृत समाजवादीका नेता सशंकित : अरुले प्रस्ताव गरेर मात्रै हुन्न



प्रकाश भण्डारी

राष्ट्रपतिबारे ओली र नेपालबिचको 'वान अन वान' वार्ताबारे एकीकृत समाजवादीका नेता सशंकित : अरुले प्रस्ताव गरेर मात्रै हुन्न

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले राष्ट्रपतिको उम्मेदवारबारे पहल गर्ने निर्णय गरेको छ। फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनको फागुन १३ गते मनोनयन छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि एकीकृत समाजवादीले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिने निष्कर्ष निकालेको एकीकृत समाजवादीका एक सचिवालय सदस्यले जानकारी दिए। बुधवारको सचिवालयको बैठकमा अध्यक्ष नेपालले सचिवालय सदस्यलाई ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।

ओलीले प्रस्ताव गरेरमात्रै राष्ट्रपति आफ्नो दलले पाउने सम्भव नहुने भएकाले आफैँले पनि पहल गर्नुपर्ने निर्णयमा एकीकृत समाजवादी पुगेको उनले बताएका छन्। 'ओलीले गरेको प्रस्तावले मात्रै हुदैन हामी आफैंले पनि पहल गर्नुपर्छ भन्ने निचोड निस्किएको छ,' ती सदस्यले भने। बुधवारको सचिवालयको बैठकमा मुख्यगरी दुई एजेण्डामा छलफल भएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहले बढाएको गतिविधि बढाएकाले सबै दलसँग उक्त विषयमा छलफल गर्ने पनि बैठकले निचोड निकालेको हो। उक्त बैठकमा ओली र नेपालबिच 'वान अन वान' वार्ता भएको भन्दै प्रश्न उठाएका थिए। वार्ताहरु अस्पष्ट भएको भन्दै अबका वार्तामा कम्तिमा एक जना सहभागी गराउने सहमति भएको हो।

'माधव नेपाल र केपी ओलीबिच एक्ला एक्लै वार्ता भयो। के के विषयमा भए ती स्पष्ट हुने कुरा भएन। त्यसकारण यसभन्दा पछि वार्तामा कम्तिमा एक जना सहभागी गराउने भन्ने भएको छ,' एकीकृत समाजवादीका एक पदाधिकारीले भने। एकीकृत समाजवादीको उक्त निर्णयपछि नेपाल महासचिव वेदुराम भुसाललाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास गएका थिए।

राष्ट्रपतिबारे सहकार्य गर्न सकिने प्रस्तावका साथ नेपाल देउवलाई भेटन उनको निवास गएको एकीकृत समाजवादीका नेताको भनाइ छ। 
ओलीले पार्टी एकता गरे राष्ट्रपति सम्भव भएको नेपाललाई बताएपछि पार्टी एकताबारे पनि चर्चा भएको थियो। तत्काल पार्टी एकता गर्न सम्भव नभएको धारणा एकीकृत समाजवादीका अधिकांश नेताले राखेका छन्। नेपाल- ओली वार्तामा खनाललाई पनि राष्ट्रपति बनाउन सकिने बारेमा छलफल भए पनि ओली सकारात्मक नभएको नेपाल निकट नेताको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell