PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सुन तस्करीको ‘ट्रेल’ : सुडानीले विदेशबाट काठमाडौं ल्याउने, केही घण्टामै विराटनगर हुँदै भारत पुर्‍याउने



सविन ढकाल

सुन तस्करीको ‘ट्रेल’ : सुडानीले विदेशबाट काठमाडौं ल्याउने, केही घण्टामै विराटनगर हुँदै भारत पुर्‍याउने
फाइल फोटो।

काठमाडौं : पुस ८ गते। एक सुडानी नागरिकको नाममा बुक भएको थियो नयाँ बसपार्कस्थित एक होटेलको कोठा। फ्लाई दुबईबाट सवा दुई बजेतिर काठमाडौंको विमानस्थलमा ‌ओर्लिए सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सराफलदिन।

विमानस्थलको ‘वाक थ्रु’मार्फत फ्लाइटमा आउनेहरूको चेकजाँच हुने गर्छ। विमानस्थलमा खटिएका व्यक्तिलाई देखेपछि उनी डराएका थिए। त्यसमाथि ‘वाक थ्रु’मा साइरन समेत बजेपछि उनको झनै सातो गयो।

विमानस्थलको भन्सार कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लियो। कम्मरमा बाँधेर ल्याएको अर्धठोस् सुन जफत गर्‍यो। उनी हिरासतमा पुगे। १५ दिनको लागि पर्यटन भिसामा नेपाल टेकेका उनको बसपार्कको होटेलमा बस्ने र डाँडाकाँडा हेर्ने सपना एकाएक चकनाचुर भयो।

दुबईबाट नेपालमा सुन तस्करी भइरहेको खुल्यो। अनुसन्धान प्रहरीको हातमा पुग्यो। उनले ल्याएको सुन रिसिभ गर्न बसेका अर्का सुडानी नागरिक पनि समातिए। अहमद मोहम्मद इब्राहिम मोहम्मद जो नेपालसम्म आएको सुन भारतमा पुर्‍याउने गर्थे। भन्सार कार्यालयको अनुसन्धानमा चित्त नबुझेपछि सरकारी वकिल कार्यालयले अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई सुम्पियो।

अहिले प्रहरीले अनुसन्धान सकाएको छ। भन्सार छली मात्र नभएर सङ्गठित अपराधमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। जसमा ६ जना विदेशी नागरिकलाई प्रतिवादी बनाइएको प्रहरीको दाबी छ। समातिएका दुई जना र त्यो बाहेक अन्य सुडानी र भारतीय नागरिक पनि छन्।

उक्त घटनाको दुई महिनापछि भारतमा पनि ७ सुडानी र तीन भारतीय पक्राउ परेका छन्। भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)को टोलीले भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको छ। भारतको पटना, पुणे र मुम्बईबाट सुन जफत गरिएको हो। सोही अपरेशनमा १ करोड ३५ लाख भारतीय तथा विदेशी मुद्रा समेत बरामद भएको जानकारी दिएको छ।

भारतमा बरामद भएको सुनको कनेक्सन नेपालसँग जोडिएको छ। जसलाई प्रहरीले गरेको अनुसन्धानले पनि प्रमाणित गर्छ। दुबईबाट आएको सुन भारत पुग्नु, अभियुक्तको बयान, तस्करीको ट्रेन्डले अहिले त्यही भनिरहेको छ।

सुन तस्करीको यो ट्रेलमा भारतीय नागरिकको संलग्नता देखिएको छ। दुबई हुँदै वा अन्य ठाउँबाट तस्करी गरेर आएको सुन भारत जाने गरेको छ। जसमा च्यानल बनाएर तस्करी समूहले धन्दा चलाइरहेका छन्।

प्रहरीको अनुसन्धानमा देखिएअनुसार दुबई वा विदेशबाट एउटाले सुन ल्याउँछ। त्यसपछि काठमाडौंमा रिसिभ गरेर अर्कोले भारतीय सीमा नाकासम्म पुर्‍याउँछ। त्यसपछि अर्को मानिसले भारतसम्म लग्छ। भारतमा पुर्‍याएपछि फेरि अर्को मानिसले भारतका विभिन्न स्थानमा पुर्‍याउने गरेको देखिएको छ।

सुडानी नागरिकले दुबईबाट ल्याएको सुन दिउँसो नेपालमा आउने बित्तिकै आन्तरिक उडान तथा स्थल मार्गबाट विराटनगर लग्ने गरेको खुलेको छ। अहमद मोहम्मद इब्राहिम मोहम्मदले सुन विराटनगरसम्म पुर्‍याउने गरेका थिए। उनी पटक-पटक नेपाल आएको देखिएको छ। त्यस्तै, उनले धेरै पटक काठमाडौंदेखि विराटनगरसम्मको यात्रा गरेको देखिएको ब्युरोका एसपी सञ्जय थापाले बताए।

‘उसलाई अग्रेजी भाषा पनि आउँछ। नेपालको केही समय नेपालमा बसेकाले उसले यहाँको ठाउँको बारेमा पनि परिचित भएको छ,’ एसपी थापाले भने।

पक्राउ परेका अर्का सुडानी नागरिक भने आफ्नो भाषा भन्दा अरूमा जानकार छैनन्। अहमद मोहम्मद इब्राहिम मोहम्मदले भने विराटनगरको होटेलमा बस्ने र भारतीय नागरिकले सुन रिसिभ गरेपछि काठमाडौं फर्किने गरेका थिए। त्यसपछि भारतीय नागरिकले भारत सुन लग्ने गरेको प्रहरीको दाबी रहेको छ।

प्रहरीको अनुसन्धानमा केही भारतीय नागरिकको नाम समेत खुलेको छ। सुडानी नागरिकको ह्वाट्सएपमा भएको सम्पर्कको आधारमा पवन, जोनी लगायत नाम गरेका भारतीय नागरिकको संलग्नता देखिन्छ। उनीहरू दुबईमा बसेर नेपाल सुन पठाउने गरेका छन्। त्यस्तै, अन्य केही सुडानी नागरिकको संलग्नता देखिएको छ।

काठमाडौं हुँदै विराटनगर पुगेको सुन भारतको हैदरावाद पुग्ने गरेको नेपाल प्रहरीको अनुसन्धानमा खुलेको छ। नभन्दै सोमवार भारतको हैदराबादबाट पनि सुन बरामद भएको थियो। दुई महिलालाई साढे ५ किलो सुनसहित पक्राउ गर्न डीआरआई सफल भएको थियो। उनीहरू सुन लिएर हैदराबादबाट मुम्बई गइरहेका थिए।

नेपाल प्रहरीको अनुसन्धानमा दुई सुडानी महिलाको प्रयोग भएको खुल्छ। तर, भारतमा समातिएका महिला नै हुन् वा होइनन् भन्ने खुलेको छैन। उनीहरूले बागडोरा विमानस्थलबाट दिल्ली वा मुम्बई सुन लाने गरेको देखिन्छ।

‘विराटनगरमा पुगेको सुन भारतको हैदराबाद जाने भन्ने हाम्रो अनुसन्धानमा देखिएको थियो। त्यहाँबाट उनीहरूले आन्तरिक उडानबाट अन्य ठाउँमा लग्ने भन्ने हो,’ एसपी थापाले भने।

भारतको हैदराबादमा एउटा मुस्लिमबस्ती छ। त्यहाँ केही सुडानी नागरिक पनि बसोबास गर्ने गरेका छन्। केहीले भारतीय आधार कार्ड समेत प्राप्त गरेको अनुसन्धानमा खुलेको छ। त्यहीँबाट सुन तस्करीको एउटा सञ्जाल परिचालित समेत भएको देखिन्छ।

पछिल्लो समय सुन तस्कर समूहले सुडानी नागरिकलाई भरिया बनाउँदै आएको खुलेको छ। उनीहरुको पैसा सुडानमा परिवारलाई नै दिने शर्तमा नेपाल पठाएको बयानमा उल्लेख छ। अंग्रेजी क्यालेन्डर अनुसार गएको एक वर्षमा नेपालमा ३४ जना सुडानी नागरिक पर्यटन भिसामा नेपाल आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

विदेशबाट अवैध तरिकाले नेपाललाई ट्रान्जिट बनाएर भारत सुन पुर्‍याउँदा तोलामा १५ देखि २५ हजार रुपैयाँसम्म फाइदा हुने गरेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell