PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा, उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दाबी



रासस

खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा, उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दाबी
फोटो : रासस।

त्रिशूली : नुवाकोटको तादी गाँउपालिका-३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ। तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो।

आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागि आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए। उनका अनुसार केन्द्रबाट आँखासम्बन्धी स-साना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइएको छ।

आँखाको स्वास्थ्य जाँच गराउन यसअघि नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौं जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए।

केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधा सहित आवश्यक औषधि र चस्मा सेवा उपलब्ध छ। केन्द्र सञ्चालनको लागि फर्निचरसहितको बन्दोबस्ती तादी गाउँपालिकाले मिलाएको हो।

एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने र त्यसपश्चात् सम्बन्धित तादी गाउँपालिकालाई हस्तान्तरण गरिने समझदारी भएको छ। नुवाकोटमा यसअघि सामुदायिक आँखा केन्द्रको समन्वयमा लिखुको चौघडा र दुप्चेश्वर गाँउपालिकाको समुद्रटारमा ग्रामीण आँखा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell