PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जसले ब्युँताए इटहरीको नाट्य इतिहास...



लक्ष्मी बलायर

जसले ब्युँताए इटहरीको नाट्य इतिहास...

काठमाडौं : इटहरीबाट काठमाडौं आइपुग्दा सोनु जयन्ती र प्रज्ज्वल पराजुली खुसी देखिन्थे। इटहरीमा थिएटर हुर्काइरहेका यी दुई रंगकर्मीमध्ये सोनु भन्दैथिए, ‘काठमाडौंमा हाम्रा विद्यार्थी पनि छन् जो नाटकमै जीवन खोजिरहेका छन्।’

अनि प्रज्ज्वल भन्दैथिए, ‘उसो त हामी नाटकमात्र सिकाउँदैनौँ। असल मानिस बन्न सिकाउँछौ।’ काठमाडौंबाटै नाटकको मियो समाएर उता फर्केका उनीहरुले ‘लोकल टेस्ट’ बोकेर आएका थिए।

इटहरीको नाटकको इतिहास खोतल्दा

विसं २०५९ साल ताका। माओवादी जनयुद्धले गाउँ प्रभावित थियो। सोनु काठमाडौं आए। इटहरीमा फाट्फुट्ट नाटक गर्ने सोनुले रंगमञ्चको जरो समाते - गुरुकुल।

दिनभरि गुरुकुलमै हुन्थे। त्यतिखेर सोनुका साथीहरू थिए – सौगात मल्ल, कमलमणि नेपाल, प्रवीण खतिवडा, रामहरि ढकाल, सरिता गिरी, भोला सापकोटा, राजकुमार पुडासैनी।

गुरुकुलका धेरै नाटकमा अभिनय गरे सोनुले। तर, गाउँघरमा खुल्ला वातावरणमा हुर्किएका सोनुलाई उकुसमुकुस हुन्थ्यो। व्यस्त सहरमा जीवन चलाउन नै कठिन हुन थालेपछि रमाउन सकेनन् यहाँ। अनि सोचे- इटहरीमै फर्कन्छु। २०६३ मा फर्किए पनि।

सोनुलाई इटहरीमा नाटकको पुनःस्थापना गर्नु थियो। सुरुमा उनले कलालय संस्था खोले। कलालयमार्फत् बालबालिकालाई सिर्जनशील बनाउनु पहिलो उद्देश्य।

तर, सुरु कहाँबाट गर्ने?

उनले इटहरीको रंगमञ्चको इतिहासबारे अध्ययन थाले।

रामकुमार सुब्बा, नरवीर थापा, धरणीधर दाहाल, यज्ञपसाद अधिकारी, वसन्त सुवेदी, चण्डिका निरौला, कल्पना चौधरी, राम घिसिङ, कमल राईलगायतले कुनै समय रंगमञ्च तताइसकेको रहेछन्। नाटकको बलियो इतिहासले सोनुमा उत्साह थपिदियो।

‘इटहरीमा नाटकको इतिहास बुझ्दा त म छक्क परेँ। त्यहाँ त २०१६ सालदेखि नै नाटक मञ्चन हुन सुरु भएको रहेछ। ३२ सालसम्म नियमित नाटक मञ्चन भएको भेटियो। त्यसपछि हुने रोकिने क्रम जारी रह्यो। तर, २०६२/६३ तिर सेलाएको थियो। ३५ सालअघि नाटकको क्षेत्रमा काम गर्ने ८६ जना जीवित भेट्यौं। जो नाटक अभिनय, नृत्य संगीत तथा गायनमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने।

सुरुवाती ताका जनता माध्यामिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन भएको रहेछ। त्यसपछि भने इटहरी गाउँ पञ्चायतको खुल्ला मञ्चमा लामो समयसम्म नाटक मञ्चन भएछ।

पुराना रंगकर्मीको गफ सुन्दै गएपछि सोनुलाई पुरानै नाटक हेर्न मन लाग्यो। ‘पहिले कस्ता नाटक हुन्थे र कसरी गरिन्थे होला?’ कौतूहलता थपिँदै गयो।

पुराना रंगकर्मीलाई एकै ठाउँ ल्याएर नाटक गराउने योजना बुने। धेरैले यो योजना सम्भव नहुने भन्दै सम्झाउँथे। तर, उनी सम्भव बनाउने कसरतमा लागे।

कोही क्यान्सर पीडित थिए, त कोही वृद्ध अवस्थामा लागिसकेका। कसैले उनको प्रस्तावलाई स्वीकार गरेनन्। तर, सोनुले प्रयास जारी राखेपछि २५ जना भेला भए। यो टोली भेला गराउन ८ महिना लाग्यो सोनुलाई।

‘धेरै पछि भेट भएकोले उहाँहरू धेरै भावुक हुनुभयो। एकअर्कालाई अंगालो हालेर माया गर्दा छुट्टै माहोल बनेको थियो। २०१६ सालमा नाटक गरेको याद भएपनि उहाँहरू नाटकको कथा भने बिर्सिसक्नु भएको थियो’, भेलाको माहोल सम्झिए सोनुले, ‘तर, भेटघाटमा उहाँहरुले नाटकका सिन सम्झिनुभयो। हामीले प्रत्येक वर्ष मञ्चन भएका नाटकका एक-एक दृश्यतयार गर्ने निधो गर्‍यौँ।’

झण्डै एक महिनाको रिहर्सल भयो। कलालयको पहिलो कामको रुपमा ०६४ सालमा इटहरी उपमहानगरपालिकामा नाटक मञ्चन भयो। जहाँ पुरानै समयमा नाटक मञ्चन हुन्थ्यो।

हल भरिभराउ। धेरैले त इटहरीमा नाटकको पुरानो माहोल फर्किएको प्रतिक्रिया दिए।

नाटक हेरेपछि सोनुलाई लाग्यो- हामी त निकै सम्पन्न रहेछौं!

सोनुले बालबालिकालाई नाटकको कार्यशालामा समेट्ने योजना बुने। उनलाई नयाँ पुस्तामा रंगमञ्चको बीउ छर्नु थियो। ‘एउटा बच्चाको लागि निरन्तर आठ/दश वर्ष रंगमञ्चमा लगानी गर्दा त कसो नहोला,’ सोनुले अर्को योजना बनाए।

जब आमाहरू नै नाटक सिक्न आए

विद्यार्थीको स्कुल छुट्टीको समय नाटक सिकाउने योजना सोनुले सुनाए। धेरैले पत्याएनन्।

सोनुले १२ विद्यालयलाई विद्यार्थीलाई नाटक सिकाउनेबारे छलफल गर्न बोलाए। तर, छलफलमा जम्मा ५ स्कुलमात्रै सहभागी भए। त्यसमध्ये तीनवटा स्कुलले मात्र आफ्ना विद्यार्थी पठाए। त्यसपछि ‘स्कुल थिएटर’को नामबाट नाटक कार्यशाला गर्ने तयारी गरे।

अग्रज रंगकर्मी सोध्थे, ‘यसरी कति वर्ष पार लाग्छ त!’

‘पाँच वर्ष म जसरी पनि इटहरीबाट हल्लिन्न। १० वर्ष त टिक्छु,’ सोनु जवाफ दिन्थे।

अभि सुवेदी, सुनिल पोखरेल लगायतका रंगकर्मीलाई कार्यशालाका लागि बोलाए। पहिलो वर्ष ६५ जना विद्यार्थीहरुलाई नाटक सिकाए सोनुले।

एकवर्ष स्कुल थिएटर राम्ररी सञ्चालन भयो। अर्को वर्ष अभिभावकले नाटकमा पठाउँदा बच्चाहरुको पढाइ बिग्रिन्छ भन्न थाले। परिणामस्वरुप विद्यार्थीको संख्या केही घट्यो।

समस्या समाधानका लागि सोनुले महिलाहरुलाई नै नाटक सिकाउने विचार गरे।

तीज आउँदै थियो। एउटा संस्थामार्फत् तीजमा नाटक गर्नेबारे प्रस्ताव अघि सारे सोनुले। तीजमा नाटक गर्ने भनेपछि महिलाहरू पनि उत्साहित भए।

नाटकको तयारीका लागि ३२ जना महिला नियमित रिहर्सल गर्न कलालय पुग्न थाले। ‘नाटक सिक्न एउटै घरको तीन पुस्ता नै आउनुभयो। एकदिन आएपछि उहाँहरू रमाउन थाल्नुभयो। समस्या थाती राखेर पनि उहाँहरूले नाटकको लागि समय छुट्याउनुभयो। त्यो लगाव देखेर आफैँ अचम्मित भएँ,’ सोनु भन्छन्।

बिरामी भएर रातभरि अस्पताल बसेकी एक जना महिला नाटकको प्रस्तुतिको बेला आइपुगिन्। त्यो देखेर सोनुको पनि मन थामिएन। ‘जब उहाँहरू आफैंले अनुभूत गर्नुभयो। तब बच्चाहरू बिग्रिँदैनन् भनेर छोराछोरी पठाउन थाल्नुभयो,’ सोनु भन्छन्।

गृहणीले नाटकबारे बुझेपछि सोनुको स्कुल थिएटरको यात्रा सहज हुन थाल्यो। थिएटरमा दर्शकको चहलपहल बढ्न थाल्यो।

अनि जोडिए प्रज्ज्वल...

थिएटरले लय समात्दै थियो। २०७४ मा सोनुसँग जोडिन आए रंगकर्मी प्रज्ज्वल पराजुली। उनी पनि सोनुझैं काठमाडौंबाट इटहरी फर्किएका थिए।

सुरुमा प्रज्ज्वलले इटहरीमा हस्पिटालिटी व्यवसाय गरे। ६ महिनासम्म त उनी व्यवसायमै केन्द्रित भए। २०७४ को अन्त्यतिर एक साथीमार्फत् प्रज्ज्वल र सोनुको पहिलो भेट भयो। भेटमा प्रज्ज्वलको सपना सोनुले देखिरहेको सपनासँग मिल्यो।

दोस्रोपटकको भेटमा सोनु र प्रज्ज्वलबिच लामै कुराकानी भयो। ‘उहाँ मजस्तै खाली मान्छे पो हुनुहुँदो रहेछ। मैले खोजेजस्तै मान्छे,’ सोनुलाई लाग्यो।

त्यसपछि सोनुले प्रज्ज्वललाई नाटक निर्देशनको जिम्मा दिए।

त्यो नाटक थियो–‘ईश्वरलाई चिठ्ठी’।

जुन काम प्रज्ज्वलले निकै राम्रो तरिकाले पूरा गरे। त्यसपछिको यात्रामा दुवैको सहकार्य थियो। त्यो सहकार्य अहिले झन् मजबुत छ।

प्रज्ज्वलले कक्षा ११ पढ्ने विद्यार्थीलाई कलालयमा ल्याएर १५ दिन अभ्यास गराए। फरक समुदाय र परिवेशमा हुर्किएका विद्यार्थीको स्वभावमा विविधता थियो। बोल्दै नबोल्ने विद्यार्थीहरू पनि बोल्न थाले। उनीहरूको आत्मविश्वास बढ्न थाल्यो।

‘शिक्षकहरूलाई सोध्दा ११ का यतिका स्मार्ट विद्यार्थी कहिल्यै देखेको थिएन भन्नुभयो। यो अभ्यासले ट्रान्सफर्मेसनमा ठूलो योगदान गर्‍यो,’ प्रज्ज्वल सुनाउँछन्।

इटहरीमा हरेक वर्ष नयाँ नाटक मञ्चन भइरहन्छ। उनीहरू नाटक लिएर कहिले नेपालमा विभिन्न ठाउँ पुग्छन् त कहिले भारत।

नयाँ पुस्ता नाटकमा आइरहन्छन्। १० वर्षदेखि जोडिएका विद्यार्थी पनि छन् कलालयमा। उसो त इटहरी छाडेर जानेहरूले पनि सिकाइलाई साथमै लिएर जान्छन्। अनि आफनो पेशामा त्यसलाई उपयोग गर्छन्।

काठमाडौंमा सोनु र प्रज्ज्वललाई फिल्मको अफर नआएको होइन। तर, उनीहरू रमाउन सकेनन्।

सोनुलाई जति आनन्द थिएटरमा लाग्छ त्यति सिनेमामा लाग्दैन। ‘सिनेमा भनेपछि म अहिले पनि तर्सिन्छु। इटहरी गएर पनि एक/दुई पटक सिनेमा गरेको छु। तर, रमाउन सकिनँ। सुटिङ गर्दा एकमहिनाको समय उकुसमुकुस भयो। सुटिङ सकिएपछि छुटकारा पाएजसो भयो,’ उनी भन्छन्।

काठमाडौंभन्दा इटहरीको अभ्यास फरक रहेको सुनाउँछन् सोनु। उनी काठमाडौंमा कलाकारमाथि सिकाउनेमात्रै प्रवृत्ति हाबी रहेको बताउँछन्। ‘काठमाडौंमा ६ महिना वा वर्ष दिन सिकाउने चलन छ। कार्यशाला अवधिभर उहाँहरूले सिकाउनु हुन्छ। त्यो संस्थाको एउटा छाप लगाउनुहुन्छ अनि छोडिदिनुहुन्छ,’ सोनु भन्छन्।

उनीहरूको स्पष्ट बुझाइ छ कि – नाटकका विद्यार्थीलाई जबरजस्ती सिकाउनुहुन्न। ऊ हिउँ पनि हुनसक्यो, बरफ पनि। केवल असल बन्नुपर्‍यो। मानिस बन्नुपर्‍यो।

फोटोहरु : कलालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell