PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

नौ महिनाअघिको तारा एयर दुर्घटनाको अन्तिम प्रतिवेदन : इञ्जिनियरिङ लापरबाहीसँगै मानवीय त्रुटि



पहिलोपोस्ट

नौ महिनाअघिको तारा एयर दुर्घटनाको अन्तिम प्रतिवेदन : इञ्जिनियरिङ लापरबाहीसँगै मानवीय त्रुटि
फाइल फोटो।

काठमाडौं : नौ महिनाअघि पोखरा-मुस्ताङ उडानका क्रममा दुर्घटना भएको तारा एयरको प्रतिवेदन सार्वजनिक भएको छ। अन्तिम प्रतिवेदनको मस्यौदाले जहाजको इञ्जिनियरिङसँगै मानवीय त्रुटि नै सम्भावित कारण भएको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको जाँचबुझ आयोगले बुधवार प्रतिवेदन पेश गरेको हो। यो दुर्घटनाको सम्भावित कारण जहाजको इञ्जिनियरिङ र मानवीय त्रुटि रहेको आयोगका संयोजक रतिशचन्द्रलाल सुमनले बताए।

जहाजमा ‘टरेन’को वार्निङ आउने उपकरण नै अफ रहेको कारण यो समय सावधानी संकेत नआइदिँदा दुर्घटना भएको हुन सक्ने उनले जानकारी दिए।

‘जहाजको टरेन वार्निङ पहिल्यै अफ गरिएको थियो। यो अन भएको भए अलर्ट वार्निङ पहिलै पाउन सक्थ्यो। जहाज उडानको क्रममा यसबाट आउने अनावश्यक अवरोध हटाउनका लागि गलत कन्फिगरेसन गरिएको थियो’, संयोजक सुमनले भने, ‘मानवीय त्रुटिसँगै आइकाओले भने बमोजिम पाइलटलाई सपोर्ट हुने उपकरणको प्रयोगमा पनि त्रुटि देखिएको छ।’

अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डको सहकार्यमा तयार गरिएको अनुसन्धान प्रतिवेदनले चालकदलले ‘इन्स्ट्रुमेन्ट मेट्रोलोजिकल कन्डिसन’सँगै भौगोलिक  संरचनामा ध्यान नदिइएको सम्भावित कारण देखाइएको छ।

‘पोखरा र जोमसोमतर्फको मौसम खुला रहेको थियो। बाटोको मौसम प्रतिकूल रहेको चालकदललाई जानकारी थियो। पाइलटले भीएफआर फ्लाइट प्लान अनुसार गरेका थिए। यो अवस्थामा आइएफआर प्लान अनुसार जानुपर्ने थियो’, आयोगका संयोजक रतिशचन्द्रलाल सुमनले भने, ‘बादलबाट बाहिर निस्कन खोज्दा देखिएको उज्यालो हिउँ थियो। निस्कने बित्तिकै जहाज ठोकिएको पाइएको छ।’

आयोगले बुधवार अन्तिम प्रतिवेदनको मस्यौदा पर्यटनमन्त्री सुदन किराँतीलाई बुझाएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स-१३ प्रावधान बमोजिम दुई महिनाभित्रै आइकाओलगायत विभिन्न निकायको प्रतिक्रिया लिएर अन्तिम प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ।

मन्त्रालयले प्राधिकरणका वरिष्ठ एरोनोटिकल इञ्जिनियर रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यसहितको जाँच आयोग गठन गरिएको थियो। यसअन्तर्गत इञ्जिनियर सुमनसहित क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिराज शाक्य, सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

गत जेठमा १९ जना यात्रु लिएर पोखरा-जोमसोम उडेको ९ एन-एइटी कलसाइनको ट्‍वीनअटर दुर्घटनाग्रस्त भएको थियो। विमानमा दुईजना विदेशी, चार जना भारतीय र १३ जना नेपाली यात्रुका साथै तीन चालकदलका सदस्यको मृत्यु भएको थियो।

दुर्घटनास्थल जोमसोमबाट आठ नटिकल माइल दक्षिण र १४ हजार ५ सय फिटमा उचाइमा रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell