PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

राष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरु आन्तरिक कसरतमा



पहिलोपोस्ट

राष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरु आन्तरिक कसरतमा

काठमाडौं : राष्ट्रपतिको उम्मेदवार तय गर्न शीर्ष दलका नेताहरु आन्तरिक कसरतमा जुटेका छन्। शनिवार राष्ट्रपतिको उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बैठक जारी छ। बैठकले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार तय गर्नेछ।

यसअघि कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक भेटिसकेको छ। प्रधामन्त्री निवास बालुवाटार पुगेर देउवालगायतका कांग्रेस शीर्ष नेताले यसबारे छलफल गरेका थिए। बुधवारमात्र कांग्रेसले एकीकृत समाजवादी, जनता समाजवादीसँग पनि छलफल गरेको थियो।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने तयारी गरेको बताइएको छ। यद्यपि कृष्णप्रसाद सिटौलाको नाम पनि नेताहरुले लिइरहेका छन्।

यता एमालेले भने पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा गरेको सहमति सम्झाउँदै राष्ट्रपतिमा दाबी गरिरहेको छ। त्यतिबेला एमालेको भागमा सभामुख, राष्ट्रपति परेको बताइएको थियो।

यही अडान दोहोर्‍याउँदै ओलीले राष्ट्रपति एमालेकै हुने दाबी गर्दै आएका छन्। राष्ट्रपतिका उम्मेदवारका लागि ओलीले प्रचण्डसँग पटकपटक भेट गरिसकेका छन्। यद्यपि ओलीले राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेबारे केही खुलाएका छैनन्।

एमालेको साथ पाएर प्रचण्ड प्रधानमन्त्री बने पनि विश्वासको मतको बेला कांग्रेसले ओलीको शब्दमा 'ढोक्सा' थापेपछि नयाँ गठबन्धनमा गढबढ आएको हो। जसले गर्दा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गएको छ। ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको अफर गरेर राजनीतिलाई तरंगित बनाइदिएका छन्। यता लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो दलका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लबिइङ थालेका छन्।

राष्ट्रपतिको उम्मेद्वार चयनको बेला शक्ति राष्ट्रको चलखेल पनि बढ्दो छ। यही बेला शीर्ष दलका नेताहरु अन्तिम निर्णय लिन आन्तरिक कसरतमा जुटेका हुन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell