39.jpg)
काठमाडौं : काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पाँचथर हिलिहाङ गाउँपालिका घर भएका ४३ वर्षीय राजकुमार योङ्या लिम्बु, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रुम्बा, धादिङ नीलकण्ठ नगरपालिकाका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका ५२ वर्षीय पेम्बा लामा र मुस्ताङका ४१ वर्षीय डिमा वाङ्दी गुरुङ रहेका छन्। पक्राउ परेका रेशम रुम्बा र सागर तामाङ भने २०६९ जेठ २ गते गते कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भई राष्ट्रपतिले २०७७ फागुन ७ गते आममाफी दिई छुटेकोसमेत खुल्न आएको छ।
पक्राउ परेका व्यक्ति चोरी गर्नेदेखि चोरीका सामान किन्नेसमेत रहेका छन्। उनीहरूले काठमाडौंका विभिन्न स्थानमा चोरी गरेको खुलेको छ। काठमाडौंको बौद्धस्थित फूलबारीमा पुस ७ गते चोरी गरेका थिए। सङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाई उनीहरूले मुगा, सी माला, सुनको गरगहना, चाँदीको विभिन्न गहना चोरी गरेको खुलेको छ। उनीहरूले ४२ लाख रुपैयाँ बराबरको सामानहरू चोरी गरेको खुल्छ।
त्यस्तै फागुन १ गते बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका पसल सञ्चालन गर्ने सुजन शाक्यको पसलको स्टोर रुमको ताला फुटाई सुन चाँदी गरेर ३५ लाख रुपैयाँ लुटेको खुलेको छ।
उनीहरूले प्रहरीबाट बच्नको लागि विभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको देखिएको छ। प्रहरीका अनुसार चोरीमा संलग्नहरुले दिनको समयमा आफ्नै ट्याक्सी लिई लोकेसनको सूचना लिने गर्छ। त्यसपछि चोरी गर्दा कुनै सबुत वा प्रमाण नभेटियोस् भनेर चोरी गर्ने क्षेत्रमा जडान गरिएका सिसिक्यामरा फुटाउने वा बङ्ग्याई आउजाउ नदेखिने बनाउने गर्ने गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए।
चोरका हजार दाउ भने झैं उनीहरूले चोरीमा प्रयोग हुने आफ्नै ट्याक्सीको केही नम्बर प्लेट छोपी प्रयोग गर्ने गरेको खुलेको छ। चोरी गर्न जाँदा विभिन्न ब्रान्डका (एडिडास, रिबोक, पुमा आदि) महँगो ब्रान्डका कपडा, जुत्ता र क्याप टोपी प्रयोग गर्ने गरेका छन्। जसले गर्दा उनीहरूको हुलिया सहजै पहिचान नहोस् भन्ने हुन्छ। चोरी गरी सकेपछि हुलिया परिवर्तनका लागि ब्राण्डेड कपडा, जुत्ता र क्याप टोपी आदि परिवर्तन गर्ने गरेको देखिएको छ।
उनीहरुले नगद, सुन, चाँदी वा बहुमुल्य धातुहरू मात्र चोर्ने गरेको देखिएको छ। यसरी चोरी गरेको सामान राजकुमार योङ्या लिम्बुले आफ्नो सुनचाँदी पसलमा बिक्री गर्ने गरेका थिए।