काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) तयार भएको बताएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सिंहदरबारमा भेटपछि यादवले उक्त भनाइ राखेका हुन्।
'राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालन लगायतका विषयमा प्रवेश गरेको छ र छलफल प्रारम्भ भएको छ। यो निरन्तर जारी छ। मन्त्रिपरिषद्को बैठक भएकोले ब्रेक भएको छ,' यादवले भने, 'जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ। सकारात्मक पाएको छु।'
मन्त्रिपरिषद्को बैठकपछि नेकपा (एकीकृत समाजवादी)सहित तीन दलबिच फेरि बैठक हुने यादवले बताए। राष्ट्रपतिमा एकीकृत समाजवादीको दाबी स्वभाविक भएको उल्लेख गर्दै यसमा कांग्रेसलाई सघाउनुपर्ने सुझाव प्रचण्डलाई आफूले दिएको यादवको भनाइ रह्यो।