PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भरोसारहित त्यो ४ घण्टाको ‘वान अन वान’ वार्ता, जसले ल्याइरहेको छ प्रचण्ड, ओली र नेपालमा झन् फाटो



प्रकाश भण्डारी

भरोसारहित त्यो ४ घण्टाको ‘वान अन वान’ वार्ता, जसले ल्याइरहेको छ प्रचण्ड, ओली र नेपालमा झन् फाटो

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल अहिले थिर छैनन्। धुम्बाराही- बालुवाटार-सिंहदवार म्याराथन वार्तामा छन् उनी। धुम्बाराही नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास हो, बालुवाटार प्रधानमन्त्रीको।

संघीय संसदको सचिवालय र संसदीय दलका कार्यालय रहेको सिंहदरवारमा प्रधानमन्त्री कार्यालय पनि छ। वार्ताको ठाउँ र पात्र फरक, विषय भने एउटै - राष्ट्रपति। नेपालको राष्ट्रपति बन्ने आकांक्षा सुशुप्त छैन।

‘सधैं अरुका लागि मात्रै बलिदान दिन सक्दैंनौं,’ मंगलबार दाङबाट नेपालको सन्देश थियो।

खुलेर ‘राष्ट्रपतिमा मेरो पनि दाबी छ’ भन्न नसकेका नेपाल शीतल निवासको लालचमा छन्। उनको लोभ किन पनि छिपेको छैन भने आफैंले ललकारिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य वार्ता गर्न भ्याइसके यसपटक। आइतबार अबेर साझा ओली- नेपाल ४ घण्टा ‘वान अन वान’ वार्ताको टेबुलमा बसे। तर ओलीले राष्ट्रपतिमा नेपाललाई निःशर्त प्रस्ताव गरेनन्। पार्टी एकताको तरबार पनि झुण्डाइदिए नेपालमाथि। ओलीले एकाएक नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्ने कुरै थिएन। पहिलो - नेपाललाई अघि बढाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत हुन्छन्। दोस्रो - एमाले पहिलो पार्टी। 

संसदमा कांग्रेस र एमालेको १० सिटको फरक छ। कांग्रेस ८९ र एमाले ७९ सिटले पहिलो र दोस्रो पार्टी छन्। एकीकृत समाजवादीका १० सांसद पनि एमालेमै आए एमाले कांग्रेस बराबर हुने छन्। एमाले पहिलो पार्टी बने संविधानमा भएको व्यवस्था अनुसारै एमाले नेतृत्वकै सरकार बन्ने बाटो खुल्ने छ प्रचण्ड सरकारलाई ढाल्न सकेको स्थितिमा।

ओली आफ्नो प्रस्ट रोडम्यापका साथ वार्ताको टेबलमा बसेका थिए। ४ घन्टे वार्तामा ओलीले एउटै दाबी रह्यो - नेपाल राष्ट्रपति तर पार्टी एकता।

‘माधव नेपाल र ओलीले ४ घन्टा वार्ता गर्नुभयो। ३ घन्टा त ओली मात्रै बोल्नु भएछ। पार्टी एकता गरेपछि सबै ठाउँमा हामी नै हुन्छौं भन्नु भएछ। माधव नेपालले पार्टी एकता नगरेरै पनि सहकार्य गर्न सकिनेबारे बोल्नुभयो, ‘वार्ताबारे जानकार एकीकृत समाजवादीका एक पदाधिकारीले भने।

ओलीले नै नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिमा हलचल नै आयो। राष्ट्रपतिमा ‘ढोक्सा’ थापिरहेको कांग्रेसका लागि सहज प्रस्ताव थिएन। पाँच वर्ष प्रधानमन्त्री बन्ने दाउँ खोजिरहेका प्रचण्डलाई पनि ओलीको प्रस्तावले कोक्यायो। ओलीको रणनीतिक चालको सुँइको प्रचण्डले देउवालाई आइतबार राति नै दिए।

कांग्रेस एमाले र माओवादीमा मात्रै होइन एकीकृत समाजवादीमै ओली- नेपाल ‘वान अन वान’ वार्ताले हलचल ल्यायो। एकीकृत समाजवादीका नेताले पार्टीको बैठकमा नेपालमाथि प्रश्न उठाए। ‘मिडिया खपतका लागि मात्रै हो कि साच्चै ओलीले तपाईँलाई राष्ट्रपतिमा प्रस्ताव गर्नु भएको हो? भनेर हामीले सोध्यौं,’ एकीकृत समाजवादीका ती पदाधिकारी भन्छन्। बैठकले वार्ता पारदर्शी बनाउनुपर्ने निचोड नै निकाल्यो।

एक्लाएक्लै वार्तामा पनि कम्तिमा एक जना अर्को नेता सहभागी गराउनुपर्ने बैठकले निष्कर्ष नै निकाल्यो। सचिवालयको बैठकपछि नेपालले महासचिव वेदुराम भुसालका साथ देउवासँग वार्ता गर्न मंगलबार धुम्बाराही गए। ओलीको प्रस्तावलाई सकारात्मक रुपमै लिएको सचिवालयको बैठकले राष्ट्रपतिका लागि पार्टी एकता भने सम्भव नभएको निचोड निकालेको थियो। ‘राष्ट्रपतिका लागि अरुले प्रस्ताव गरेर मात्रै हुन्न। हामी आफैंले पनि प्रयास गर्नुपर्छ भनेर बैठक सकिएको थियो,’ नेपाल निकट नेता भन्छन्।

ओलीको प्रस्ताव सहज नभएको बुझेपछि नेपाल अर्को विकल्पमा छन् -निर्वाचन अघिको ४ दलीय गठबन्धन ब्युँताउने। प्रचण्ड- नेपालले जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग पनि औपचारिक/ अनौपचारिक वार्ता गरिसकेका छन्। ‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ,’ बुधबार प्रचण्डसँगको भेटपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले भने।

नेपाली कांग्रेसले एमालेलाई सत्ता गठबन्धनबाहिर राख्न प्रचण्डलाई पुस २६ मा विश्वासको मत दिएकै दिनदेखि थालिसकेको थियो। तर अप्ठेरो के छ भने ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि शीतल निवासमा आसनका लागि मुख मिठ्याइसकेका नेपाल राष्ट्रपति नपाएरै पुरानै गठबन्धनमा सहकार्य गर्न तयार हुन्छन् वा एमालेसँग मिलेर राष्ट्रपति नै बन्छन्? त्यसका लागि २ दिनको समय छ नेपाललाई। प्रचण्ड पनि एमाले बाहेकलाई राष्ट्रपति बनाएर आफ्नो प्रधानमन्त्री काल पाँच वर्ष बनाउने कसरतमा जुटिसकेकै छन्। प्रचण्डसँगको सम्बन्धमा खटपट आएपछि ओलीले बुधबार नै सरकारले दिएको जनयुद्ध दिवसको कडा शब्दमा विरोध गरेका छन्। एमाले नेताहरुका अनुसार प्रचण्ड -ओलीका पछिल्ला वार्ता हार्दिकतारहित भइरहेका छन्। जसको अर्थ एमाले राष्ट्रपति नपाए तत्काल सरकारबाट बाहिरिने छ भने नयाँ गठबन्धनलाई भत्काउने पुरानै रणनीति अबलम्बन गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell