काठमाडौंः राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा जुटेका चार दलले पुनः आन्तरिक परामर्श गरेर निष्कर्षमा पुग्नेगरी बिहीबारको निर्णयक भनिएको छलफल स्थगित गरेका छन्। प्रतिनिधि सभा चुनावअघिको गठबन्धन ब्युँताउने गरी छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले शुक्रबार पुनः द्धिपक्षीय छलफल गरेरमात्र निर्णयक छलफलको सहमति गरेका हुन्।
बिहीबार साँझको छलफलमा माओवादी केन्द्रले पुनः एमालेसँग शुक्रबार छलफल गर्ने र अन्य दलहरुले पनि आन्तरिक परामर्श गर्नेगरी बैठक स्थगित भएको जसपाका प्रवक्ता मनीष सुमनले बताए।
समझदारी अनुसार शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ।
यस्तै, जसपा र एकीकृत समाजवादीले नेपाली कांग्रेससँग छलफल गर्नेछन्। जसपाले पछिल्ला दिनमा पुरानो गठबन्धनसँग उपराष्ट्रपति दाबी गरिरहेको छ।
द्धिपक्षीय छलफल सकिएपछि चार दलको बैठक बस्ने सुमनले बताए।
राष्ट्रपति उम्मेदवारबारे छलफलका लागि कांग्रेसले फागुन १३ गते नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सोही दिन राष्ट्रपतिको उम्मेदवारको मनोनयन समेत हुँदैछ।