काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने मागसहित दिएको निवेदनको सुनवाई आज हुँदैछ। सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ।
पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्।
विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ। तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न शनिवार यूएई जाने कार्यतालिका रहेको छ। अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन्।
तर, आज पेशी सूचीमा लामिछानेको पेशी अन्तिममा रहेको छ। त्यसैले सुनवाइ हुने सम्भावना न्यून देखिएको छ।