PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

लामा र श्रेष्ठलाई फोनिज युके पुरस्कार



पहिलोपोस्ट

लामा र श्रेष्ठलाई फोनिज युके पुरस्कार

काठमाडौं : यस वर्षको फोनिज युके पत्रकारिता पुरस्कार रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ। शुक्रवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकारद्वयलाई पुरस्कार प्रदान गरेका हुन्।

आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को आयोजनामा अनामनगरको तमु बौद्ध सेवा समितिमा पुरस्कार तथा सम्मान प्रदान कार्यक्रम गरिएको थियो। पुरस्कृत लामा रेडियो नेपालमा तामाङ भाषाको पहिलो समाचारवाचिका हुन्। त्यसैगरी श्रेष्ठ नेवा: पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष हुन्। दुबै जनालाई प्रतिव्यक्ति सम्मानसहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको फोनिजले जनायो।

आफूले मातृभाषामा सेवा गरेवापत पुरस्कारका लागि छनोट गरेकोमा लामाले फोनिज युकेलाई धन्यवाद व्यक्त गरिन्। 'म जागिर भन्दा पनि काममा लागें, मातृभाषामा। त्यसैले खुसी लागेको छ,' लामाले भनिन्। यद्यपि सरकारीदेखि निजीमा भाषाभाषीमा काम गर्नेहरुलाई तलबमै विभेद रहेको बताइन्। 'पारिश्रमिकमा विभेद छ। एकरुपता छैन सरकारीमै। निजीको त आआफ्नै नियम छ। तैपनि सबै आआफ्नो कर्ममा खटिरहेका छन्,' उनले भनिन्।

फोनिज युकेका अध्यक्ष गोमा रानाले पत्रकारिता क्षेत्रमा लगातार लागिरहनेहरुलाई थप प्रोत्साहनका लागि प्रयास गरिने धारणा राखिन्। 'सन् २०१६ सालबाट शुरु भएको हो। शुरुमा एकजनामात्रै सम्मानित गर्थ्यौ। मन्त्रीबाट हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ। हामी थप सहयोग जुटाउने छौ,' उनले भनिन्।

सम्मान प्रदानपछि मन्त्री मोदीले सानो भए पनि पुरस्कारले उत्साह थप्ने बताए। 'राशिले त कहिले पुग्दैन। सम्मान पाउन निकै मुश्किल हुन्छ। पहिले एउटा कलम पुरस्कार पाउथ्यो। त्यसले पनि प्रोत्साहन मिल्थ्यो,' मन्त्री मोदीले भने। फोनिज युके पुरस्कार सन् २०१६ मा बेलायत निवासी सोनामछिरिङ शेर्पाले स्थापना गरेका हुन्। कार्यक्रमलाई निरन्तरता दिन पाएकोमा खुसी लागेको फोनिजका अध्यक्ष गजुरधन राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell