काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाह ठीक ठाउँमा बस्नुपर्ने बताएका छन्। एक दुई हजार मानिस लिएर हिड्दैमा राजतन्त्र नफर्कने कुरा पूर्व राजाले बुझ्नुपर्ने मन्त्रीको मोदीको भनाई थियो।
'गणतन्त्र सुन्दर पक्ष हो। दुई हजार एक हजार मान्छे जम्मा पारेर राजतन्त्र फर्कदैन। पूर्व राजा ठीक ठाउँमा बस्नुपर्छ। किनभने हामी उहाँलाई सम्मान गर्छौ,' शुक्रवार फोनिज युके पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री मोदीले भने।
देश ठीक ठाउँमा हिँडिरहेको बेला कसैले खल्बलाउँछ भने लोकतन्त्रका लागि सबैले खबरदारी गर्नेसमेत उनले बताए। 'गणतन्त्रका लागि हजारौं जनताले बलिदान दिएका छन्। लाखौं सडकमा आएका थिए। त्यो स्थिति नहोस्। देश ठीक ठाउँमा हिँडिरहेको बेला कसैले खल्बलाउँछ भने हामी गणतन्त्र र लोकतन्त्रको लागि पत्रकारितामार्फत खबरदारी गर्नुपर्छ,' मन्त्री मोदीले भने।