PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

कांग्रेस नेतालाई नै शंका : देउवा पो राष्ट्रपति हुने त होइनन्?



पहिलोपोस्ट

कांग्रेस नेतालाई नै शंका : देउवा पो राष्ट्रपति हुने त होइनन्?

काठमाडौं : राष्ट्रपतिको उम्मेदवार चयन गर्न दलहरुबीच रस्साकस्सी छ। सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसक्दा मुखमा आएको सत्ता गुमायो।

यही झोंकमा कांग्रेस राष्ट्रपति जसरी पनि आफ्नो पक्षमा पार्ने दाउमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपतिमा 'ढोक्सा' थाप्यो। कांग्रेसको विश्वासले अविश्वास सत्ता गठबन्धनमा पैदा भयो। एमाले सशंकित मात्रै भएको छैन्, सत्ताबाट बाहिरिए कस्तो नीति बनाउने भन्नेसम्मको तयारीमा छ। विश्वासको मत दिएर अविश्वास पैदा गराइदिएको कांग्रेस राष्ट्रपतिका लागि ढुक्क भने छैन।

पुरानै पाँच दलीय गठबन्धन ब्युँताउन र राष्ट्रपति आफ्नो पोल्टामा पार्न कांग्रेसले म्याराथन बैठकहरु चलाएको छ। मन अमिलो बनाएर बालुवाटार छाडेका कांग्रेस सभापति शेरबहादुर देउवा तीन पटक औपचारिक रुपमा बालुवाटार छिरिसकेका छन्, प्रचण्डलाई कन्भिन्स गर्न। शुक्रवार जनमोर्चाबाहेकको पुराना पाँच दलका शीर्ष नेताहरु राष्ट्रपतिको उम्मेदवारका लागि जुटेका छन्। एमालेबाहेक दलले राष्ट्रपतिका लागि म्यारथन बैठक नै गरिरहेका छन्। घरी बालुवाटार त घरी सिंहदरवार।

माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपा छलफलमा जुटेको हो। बिहीवारको तीन दलको बैठक अघि नै जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई भेटेर उपराष्ट्रपतिमा दाबी गरे। उपराष्ट्रपति दिए राष्ट्रपतिमा सघाउने वाचा यादवले प्रचण्डलाई दिएका छन्। 'हाम्रो इच्छा उपराष्ट्रपतिमा छ। उपराष्ट्रपति हामीलाई मिले अरु भागबण्डा गरेर अगाडि बढ्ने कुरा छ,' जसपाका प्रवक्ता मनिषकुमार सुमनले भने।

कांग्रेसबाहेक तीन दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमत देखिए। कांग्रेस भने उक्त हसमति मान्ने पक्षमा छैन। आफ्नै दलको राष्ट्रपतिका लागि गृहकार्य गरिरहेको छ कांग्रेसले। नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेपछि कांग्रेस झनै झस्किएको छ।

नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिमा प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावले प्रचण्ड पनि झस्काएको छन्। नेपाललाई राष्ट्रपतिमा ओलीले निशर्त प्रस्ताव गरेनन्। पार्टी एकताको शर्त नेपालमाथि राखेपछि प्रचण्ड हच्किएका हुन्। प्रचण्ड पनि नेपाललाई आफ्नै पार्टीमा भित्र्याउने गृहकार्यमा यसअघि नै थिए एकता वार्ता समिति गठन गरेर। एकीकृत समाजवादीका १० सांसद आफ्नो पक्षमा पार्न सके माओवादी केन्द्र र प्रदेश सरकारका लागि सहज हुने एमालेको बुझाइ छ। गठबन्धनको भागबण्डा अनुसार सभामुख लिइसकेको एमाले राष्ट्रपति लिन सके आफ्नो पार्टी शक्तिमा रहिरहने बुझाइ ओलीमा छ।

एमाले रोक्ने दाउमा रहेको माओवादीलाई डर नेपालको

पुस १० गते बालकोट पुगेर प्रधानमन्त्री बने पनि प्रचण्ड राष्ट्रपतिमा एमालेलाई रोक्न चाहन्छन्। किन त?

'सभामुख त एमालेबाट भैगो, भावी प्रधानन्यायाधीश पनि एमालेबाट हुने सम्भावना छ,' माओवादीका एक नेताले भने, 'त्यसैले प्रधानमन्त्रीज्युले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई अघि बढाउनुहुन्न।'

कांग्रेस त जसरी पनि राष्ट्रपति आफ्नै पार्टीको हुनुपर्ने लबिइङमा छ। तर एमाले र कांग्रेसको अडानलाई माओवादीले राष्ट्रिय सहमतिको उम्मेदवार भन्दै आफूतिर क्यास गरिरहेको छ। पुरानो पाँच दलीय गठबन्धन ब्युँतने डरले एमाले अध्यक्ष ओलीले नेपाललाई अघि सारे। यस्तो हुँदा एकीकृत समाजवादी र एमाले मिल्ने डर माओवादीलाई छ। वृहत समाजवादी एकताको अभियानमा लागेको माओवादीले यसकारण पनि नेपाललाई राष्ट्रपतिमा रोक्ने बताइएको छ।

देउवा नै राष्ट्रपति हुने हुन् कि!

कांग्रेसमा अहिले राष्ट्रपतिका बलिया उम्मेदवार हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल। 'अहिलेसम्म ९९ प्रतिशत उहाँ नै हो राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट,' कांग्रेस नेताहरु ढुक्क सुनिन्छन्।

तर पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बेलाबेला सभापति शेरबहादुर देउवा नै राष्ट्रपतिमा अघि बढ्नुपर्ने सुझाव दिँदै आएका छन्। देउवा राष्ट्रपतिमा अघि बढे प्रचण्ड पनि पाँच वर्षसम्म प्रधानमन्त्री बन्न पाउनेमा ढुक्क रहेको माओवादी नेताहरु बताउँछन्। 

कांग्रेस नेताहरु पनि आफ्नो सर्कल भेटघाटमा राष्ट्रपति को हुने होला भनी जिज्ञासा राख्छन्। पौडेल नै राष्ट्रपति हुनेमा ढुक्क देखिए पनि उनीहरु सोध्छन् : कतै देउवा नै राष्ट्रपति बन्ने त हैन?

राष्ट्रपतिको निर्वाचन एमाले जसरी पनि कांग्रेसलाई रोक्न चाहन्छ भने माओवादी एमालेलाई। गठबन्धन टुटाउने दाउ खोजिरहेको कांग्रेसका लागि राष्ट्रपतिको निर्वाचन सबैभन्दा बलियो हतियार हो। एकीकृत समाजवादी पनि राष्ट्रपति हात पार्न सके सत्ता राजनीतिमा सहज हुने बुझाइमा छ। प्रचण्ड एमाले, एकीकृत समाजवादी र कांग्रेसमा सन्तुलन कायम गरेर पाँचै वर्ष प्रधानमन्त्री बन्ने दाउमा छन्। पुस १० को सहमति पालना गरेर एमालेलाई राष्ट्रपति आफ्ना लागि सहज नहुने बुझेपछि प्रचण्ड कांग्रेससँग लहसिएका छन्। आम निर्वाचनपछि प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नस्वीकारेको कांग्रेस यसपटक पाँच वर्ष नै प्रधानमन्त्री दिन तयार देखिन्छ। तर राष्ट्रपति जसरी पनि आफ्नो भागमा पार्ने दाउ भने कांग्रेसले बलियो बनाउँदै लगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell