PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

थन्किएका थोत्रा मोटरसाइकल र गाडीबारे संसदमा प्रकाशमान : करोडौंका सामान किन कवाडी बनाइए?



पहिलोपोस्ट

थन्किएका थोत्रा मोटरसाइकल र गाडीबारे संसदमा प्रकाशमान : करोडौंका सामान किन कवाडी बनाइए?

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले देशभर विभिन्न कारण थन्किएका गाडी र मोटरसाइकलबारे संसदमा प्रश्न उठाएका छन्। संसदको शून्य समयमा शुक्रवार सिंहले करोडौंको सामान कवाडीमा परिणत हुँदा सफा सहर अभियानमै असर पुगेको दाबी गरे।

'काठमाडौंलगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल गाडीहरु थन्क्याएर राखिएको छ। वर्षौंसम्म यसरी थन्क्याइँदा ती प्रयोगविहीन भएका छन्। ती सवारी साधनहरु लैजान भनेर सूचना जारी गर्दा पनि सवारी धनीहरुले किन लगेनन्?' सिंहले प्रश्न गरे, 'सवारी धनीले लग्दैनन् भने लिलामी गर्नुपर्ने होला। यसरी अस्तव्यस्त बनाएर छाड्दा ती करोडौंका सामान कवाडीमा परिणत बनेका त छन् नै, तिनले सफा शहर बनाउने अभियानमा पनि चुनौती थपेका छन्।'

नयाँ गाडीको लोभमा चल्ने अवस्थाका गाडीहरु पनि मर्मत नगरी थन्काउने चलन बढेको उल्लेख गर्दै सिंहले यसलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।

'अर्कोतिर सामान्य मर्मत गर्दा पनि चल्ने गाडीहरु पनि मर्मत नगरी थन्काउने र नयाँ गाडी चढ्ने लोभमा अर्बौं रुपैयाँ नयाँ सवारीसाधन खरिदमा खर्च गर्ने काम भैरहेको छ। यसको समस्या समाधान गरिनुपर्छ,' उनले भने, 'पुराना थोत्रा गाडीहरुको व्यवस्थापनमा कानुनी अप्ठ्यारा छन् भने त्यसमा के सुधार गर्नुपर्छ, गर्नुपर्‍यो। तर करोडौं मूल्यका गाडी मोटरसाइकल उपयोगविहीन बनाएर वातावरणसमेत अस्तव्यस्त नबनाऔं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell