बलिउड अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्याग्ने बताएका छन्। उनले आफ्ना लागि भारत सबथोक भएको बताउँदै भारतीय नागरिकता पुन: प्राप्तिका लागि आवेदन समेत बताए।
आजदेखि प्रदर्शन भएको फिल्म ‘सेल्फी’ को प्रमोसनका क्रममा अक्षयले नागरिकताबारे बोलेका हुन। उनले अन्तर्वातामा राहदानी परिवर्तनका लागि आवेदन दिइसकेको दाबी गरे। क्यानेडियन नागरिकताको कारण नजानेर मानिसहरूले केही बोल्दा नराम्रो लाग्ने उनको भनाई छ। ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु। मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन्,’ अक्षयले भने।
सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए। फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको उनले भारतीय मिडियासँग बताए। किनकी उनी साथीको सल्लाहमा क्यानडा जान चाहन्थे।
‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ। म कामको लागि त्यहाँ गएको थिएँ। मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो। मैले आवेदन दिए र छाडे,’ अक्षयले भने, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो। मेरो साथीले फर्केर जाऊ, त्यतै काम गर भन्यो। मैले केही फिल्म पाएँ र थप काम गरे। मसँग राहदानी छ भनेर मैले बिर्से। मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइन। तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु।’
क्यानेडियन नागरिकताका कारण अक्षय सधैँ निशानामा पर्छन्। उनको क्यानेडियन नागरिकता सधैँ बहसको विषय बन्छ। अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने बताएका थिए।