काठमाडौंः एयर होस्टेजलाई यौन दुर्ब्यवहार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणले पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमका एक पाइलटले सात महिनाअघि एयर होस्टेजलाई यौन दुर्ब्यवहार गरेको भन्दै उडानमा रोक लगाइएको हो।
प्राधिकरणले सात महिनाअघि भएको घट्नाको उजुरीसँगै गरेको अनुसन्धान गर्दा दुर्ब्यवहार भएको पुष्टि भएपछि कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
प्राधिकरणले ‘ह्यारेसमेन्ट एट वर्क प्लेस’ अन्तर्गत कारबाही अगाडि बढाएको उनले बताए।
‘हामीले यो विषयमा सूचना प्राप्त गरेसँगै काबावाही अगाडि बढाएका हौं। तत्कालका लागि ती सदस्यलाई उडानमा रोक लगाएका छौं,’ उनले भने, ’यो विषयमा निगमलाई थप अध्ययन गर्न निर्देशन दिएका छौं।’
प्राधिकरणले दुर्ब्यवहार गर्ने पाइलटको नाम गोप्य राखेको छ।
गत साउन १२ गते आरए-४१६ नम्बरको फ्लाइटमा पाइलटले गैरव्यवसायिक कार्य र दुर्व्यवहार गरेका थिए। हाल निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरी कुल चारवटा जहाजमार्फत दिल्ली, बेंग्लोर, मुम्बइ, कतार, मलेसिया, साउदी अरेविया, थाइल्याण्ड, हङकङ, जापान लगायत अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित उडान सेवा दिँदै आएको छ।