PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एन्फालाई टेर्दैनटेरी लिगको तयारी गोल्डकपमा, धपेडीमा खेलाडी पर्दा लिगअघि आफ्नै खुट्टामा बञ्चरो हान्दैछन् क्लबहरु?



मुकुन्द घिमिरे

एन्फालाई टेर्दैनटेरी लिगको तयारी गोल्डकपमा, धपेडीमा खेलाडी पर्दा लिगअघि आफ्नै खुट्टामा बञ्चरो हान्दैछन् क्लबहरु?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग नजिकिँदा क्लबहरु धुमधामसँग खेलाडी अनुबन्धनमा लागेका छन्। अझ विदेशी खेलाडी भित्र्याउने ध्याउन्नमा लागेका छन् ए डिभिजन क्लब। खेलाडीहरुले टिममा ‘कम्बिनेसन’ बनाउने लक्ष्यमा पनि क्लबहरुले गोल्डकपमा सहभागिता जनाइरहेका छन्।

स्तरीय खेलाडी भित्र्याएर लिगमा आफ्नो पोजिसन बलियो बनाउने होडमा ए डिभिजन लिगका क्लबहरु छन्। खेलाडीमध्ये पनि विदेशी खेलाडी टोलीको नतिजाका लागि महत्वपूर्ण मानिन्छन्। कुन क्लब कस्तो छ भनेर हेर्ने भनेकै त्यहाँ भित्र्याइएका विदेशी खेलाडीको स्तर र नेपाली खेलाडीको ‘कम्बिनेसन’बाट हो। यसकै लागि धमाधम खेलाडी भेला गरेर क्लब गोल्डकपमा भिडिरहेका छन्।

बार्सिलोना टू मनाङ

नेपाली लिगमा पछिल्लोपटक सफल मानिएको क्लब हो मनाङ मर्स्याङदी। तर, मनाङसँग यसपाला राष्ट्रिय ‘स्टार’ खेलाडी छैनन्। राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको मनाङले युवा खेलाडीमा जोड दिएको छ। विदेशी खेलाडीको सन्दर्भमा भने ‘हाइ प्रोफाइल’ खेलाडी भित्र्याएर चर्चामा छ। मनाङले दीप कार्कीलाई कप्तानको जिम्मेवारी दिएको छ।

मनाङले अघिल्लो सिजन अञ्जन विष्टको कप्तानीमा लिग खेलेको थियो। विष्टलगायत पुजन उपरकोटी, दिनेश राजवंशीलगायतका महत्वपूर्ण खेलाडीले टोली छाडिसकेका छन्।

मनाङले यो सिजनमा युरोपका ठूला लिग खेलिसकेका हाइ प्रोफाइल खेलाडी भित्र्याएको छ। जसमा ला लिगा क्लब बार्सिलोनाबाट खेलेका डिआवान्डोउ डिआग्नेदेखि उज्बेकिस्तानका सइदजामोलसम्म छन्।

यस सिजनका लागि मनाङले अनुबन्ध गरिएका खेलाडीमा दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन्।

मनाङले लिगअघि मोफसलको पाँचौँ मकवानपुर गोल्डकपको उपाधि जित्दै बलियो उपस्थिति जनाउने देखाइसकेको छ।

उपाधिमा ह्याट्रिक?

शहीद स्मारक ए डिभिजन लिगको पछिल्ला दुई संस्करणको च्याम्पियन हो मछिन्द्र क्लब। राष्ट्रिय टोलीका बलिया खेलाडी भित्र्याएर दुई पटक लिग जितेको मछिन्द्र यसलाई ह्याट्रिक बनाउन चाहन्छ। तर, यसपाला त्यति सहज भने छैन। मनिष डाँगी, सुनिल बल, विशाल राईजस्ता खेलाडी छैनन्। यद्यपि, सुजल श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङजस्ता खेलाडी लयमा छन्। मछिन्द्रले यसपटक भारतीय खेलाडी दयानन्द सिंह, दीपेश घले, दिवाकर चौधरी, उत्सव राई, विजय भुजेल, अभिषेक गुरुङ, सौरभ लिम्बू, निशेन सुब्बा, छिरिङ गुरुङ, प्रशान्त अवस्थी लगायतका खेलाडी अनुबन्धन गरेको छ।

मछिन्द्रले केपी ओली कप, भद्रपुर गोल्डकप, राजर्षी जनक कपलगायतका प्रतियोगितामा सहभागिता जनाएको छ। राजर्षी जनक कपमा च्याम्पियन बनेको मछिन्द्रको गोल्डकपमा दौडधुप धेरै छ। एकै समयमा चलिरहेका केपी ओली कप र भद्रपुर गोल्डकपमा सहभागिता जनाइरहेको छ।

बलियो संकटा, प्रभाव देखाउने चर्च ब्वाइजको होड

तीनपटक लिग जितेको संकटा क्लबले राष्ट्रिय टोलीका मनिष डाँगी, सुरज जिउ ठकुरी, आयुस घलान, निशान खड्का, गौतम श्रेष्ठ र सुनिल बललाई भित्र्याएको छ। तर, लिग सुरु नहुँदै श्रेष्ठ अस्ट्रेलिया प्रस्थान गरिसक्दा लिग सुरु हुँदासम्म को-को टोलीमा रहनेछन् भन्ने टुंगो छैन। सल्यान खड्गीको प्रशिक्षणमा रहेको संकटाले पाँच जना पुराना खेलाडीको सम्झौता नवीकरण गरेको छ।

आहा रारा गोल्डकपको च्याम्पियन बनेको संकटाले राजर्षि जनक कप, केपी ओली कप लगायतका मोफसलका प्रतियोगिता खेलिरहेको छ।

अर्कोतर्फ ए डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले पनि तयारी राम्रो गरिरहेको छ। मोफसलका प्रतियोगिता खेल्न ब्यस्त चर्च ब्वाइजले केपी ओली कप, झापा गोल्डकपलगायतका प्रतियोगिता खेलिरहेको छ।

लिगमा बलियो प्रदर्शनका लागि राष्ट्रिय टोलीका स्टार खेलाडी अञ्जन विष्टलाई भित्र्याएको चर्च ब्वाइजले ‘बी’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष चापागाइँ, साइमन लिम्बू, एनोस मगर, बिकु राई, प्रशान्त लिम्बू, आशिष चौधरी लगायतका खेलाडीको सम्झौता बढाएको छ। विष्ट भने हाल भारतीय आइलिग क्लबमा आबद्ध भएर मुम्बइ केन्क्रेबाट खेलिरहेका छन्। ए डिभिजन लिग खेल्न उनी काठमाडौं आइपुग्ने बताइएको छ।

आहा रारा गोल्डकपमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा उत्रिएको टोलीले तेज तामाङ, एरिक विष्ट लगायतको उपस्थितिमा सानदार प्रदर्शन गरेको थियो। तर, राष्ट्रिय टोलीमा नियमित पर्दै आएका दिनेश राजवंशी र तेज तामाङ अस्ट्रेलिया गइसकेका छन्। अञ्जन आइ-लिग खेल्न भारत गएका छन्। यद्यपि, अञ्जन भने नेपालमा लिग खेल्न भने आउनेछन्।

विभागीय क्लबको के छ?

ए डिभिजन लिगमा तीन विभागीय टोली- त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबको प्रदर्शनले धेरै अर्थ राख्छ। कुनैबेला लिगमा दबदबा बनाएको नेपाल पुलिसको प्रदर्शन पछिल्ला सिजनहरुमा खस्किएका छन् उपाधि जित्न नसकेको आर्मी सदाबाहार उपाधि दाबेदार भएर पनि उपाधि जित्न भने सकेको छैन। त्यस्तै, एपीएफले भने ए डिभिजन लिगमा ‘सर्भाइबल’को समस्यासँग जुध्दै आएको छ।

यी तीनै टोलीको दुई मुख्य समस्या साझा छ : खेलाडी पलायन र विदेशी खेलाडीले बढाएको दबाब। खेलाडी विदेश पलायन हुँदा विभागीय टोलीका टिमहरु धेरै मर्कामा परेका छन्। सन्तोष तामाङ, आशिष लामा, सुमन अर्याल, सुमन लामाजस्ता अघिल्लो सिजन विभागीय टोली धानेका खेलाडी पलायन भइसके। यसले विकल्प खोज्न विभागीय टोली बाध्य छन्।

उसो त अन्य टिमले पनि खेलाडी पलायनको मार खेपिरहेका छन्। तर, उनीहरुलाई यो समस्या झेल्न अर्को विकल्प छ : विदेशी खेलाडी। त्यही भएर क्लबहरुले पाँच जनासम्म विदेशी खेलाडी अनुबन्धन गर्न पाउनुपर्ने एन्फालाई दबाब दिए, र अनुमति पनि पाइसकेका छन्।

यता विभागमा विदेशी खेलाडीको बहसमात्र छ। अघिल्लो सिजन रेलिगेसनको भय बढी नै भएपछि एपीएफले विदेशी खेलाडीलाई मैदान उतार्‍यो। तर, आर्मी र पुलिसले हालसम्म विदेशी खेलाडी खेलाएका छैनन्। खेलाउने पक्षमा पनि नभएको बुझिएको छ। यसको दबाब टिमको सन्तुलन कायम राख्नमा पर्ने देखिन्छ।

अरु क्लब के गर्दैछन्?

विदेशी खेलाडी लगभग सबैजसो क्लबले भित्र्याइरहेका छन्। न्युरोड टिम (एनआरटी) ले क्यामरुनका तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ। जसमा निकोलस सर्ज सङ, स्टेफेन जुनियर, जिन एन्सियन्ट एमबोउमीलाई अनुबन्धन गरेको छ। त्यस्तै, दक्षिण एसियाली कोटामा भारतका लालनुनजामा र सैभिस सिंहलाई अनुबन्धित गरेको छ।

एन्फा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पाले सञ्जय राजबाहक, सोनित दाहाल, विसोन गुरुङलगायतलाई अनुबन्धित गरेको छ। शेर्पाले मकवानपुर गोल्डकपमा राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।

जावलाखेल युथ क्लबले पनि खेलाडी अनुबन्धनमा विदेशी खेलाडीलाई प्राथमिकतामा राखेको छ। लेसोथोका एनकोटो सिनिअस मासोअबि, उज्बेकिस्तानका अबदुल्लाजिज निशोनबोएभ, गुएनाका फोडे फुफना र घानाका अब्दुल मजिद सामते विदेशी खेलाडीका रुपमा जावलाखेलले भित्र्याएको छ।

राजर्षी जनक कपको उपविजेता बन्दै लिगमा सशक्त भएर आउने संकेत जावलाखेलले गरिसकेको छ। जावलाखेलले मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ।

त्यस्तै, ललितपुरे क्लबहरु थ्री स्टार र सातदोबाटो युथ क्लबको तयारी भने त्यस्तो आक्रामक छैन। अघिल्लो सिजन सातदोबाटोको कप्तानी गरेका मानबहादुर तामाङ विदेश पलायन भएपनि सुदीप गुरुङले कप्तानको जिम्मेवारी पाएका छन्। थ्री स्टारले अघिल्लो सिजन सातदोबाटोको टोली सम्हालेका मेघराज केसीलाई प्रशिक्षकका रुपमा अनुबन्धन गरेको छ।

गोल्डकपमा एन्फाको निर्देशनको ‘मजाक’

अखिल नेपाल फुटबल संघ (एन्फा)को तालिकाअनुसार विभिन्न गोल्डकपहरु जुधेका छन्। जस्तै शुक्रवारलाई केन्द्रित गरेर हेर्ने हो भने झापामा भद्रपुर गोल्डकप (फागुन ७-१६), रुपन्देहीमा तिलोत्तमा गोल्डकप (फागुन ७-१६), काठमाडौंमा केपी ओली कप (फागुन ११-१७) सम्म हुँदैछन्। शनिवारबाट बुढासुब्बा गोल्डकप (फागुन १३-२०) सम्म हुने मिति तोकिएको छ।

यस्तोमा एउटा क्लबले एउटामात्र प्रतियोगितामा सहभागिता जनाउनु पर्ने एन्फा महासचिव किरण राईले जारी गरेको पत्रमा उल्लेख छ। गोल्डकप आयोजकले पालना गर्नुपर्ने नियमावलीको पहिलो बुँदामा भनिएको छ, ‘सहभागी ए डिभिजन क्लबले एउटा मितिमा एउटा प्रतियोगितामा मात्र सहभागी हुनुपर्नेछ।’

भद्रपुर गोल्डकपमा सहभागिता जनाइरहेका मछिन्द्र क्लब र चर्च ब्वाइज क्लब केपी ओली कपमा पनि सहभागी छन्। झापामा खेलेको ४८ घन्टा नबित्दै मछिन्द्र क्लब र चर्च ब्वाइज क्लब काठमाडौंमा केपी ओली कपमा सहभागिता जनाएका छन्। यी क्लब प्रतिनिधि घटना हुन्। यो नेपाली फुटबलमा यस्तो नयाँ घटना पनि होइन। तर, ए डिभिजनको पूर्वसन्ध्यामा गोल्डकपको मिति जुध्दा धपेडीमा भने खेलाडी परेका छन्।

एउटा खेल सकेर अन्तर्राष्ट्रिय प्रचलन अनुरुपको आरामसमेत नगरी लामो यात्रा गरेर अर्को प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीलाई धपेडीमा पार्ने काम गर्छ। यसले टिमको प्रदर्शनलाई त प्रभावित गर्छ नै, क्लबले पनि सुखद नतिजा हात पार्न सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell