काठमाडौं : नेकपा एमाले तत्काल सरकारबाट फिर्ता नहुने भएको छ। राष्ट्रपति टुंगो नलागेसम्म पुस १० गतेको गठबन्धन कायम रहने एमाले प्रवक्ता एवं सचिव पृथ्वीसुब्बा गुरुङले बताए।
राष्ट्रपतिको उम्मेदवार चयनपछि पुस १० गतेकै सहमतिअनुसार अघि बढ्नुपर्ने एमालेको अडान रहेको गुरुङले बताए। 'सरकारबाट बाहिरिने भन्ने कुरै भएन नि। २५ गतेसम्म राष्ट्रपति चयनको नीति भएकोले त्योबेलासम्म यही गठबन्धन पुस १० कै सहमतिअनुसार अघि बढ्ने निर्णय गरेका छौ,' उनले भने, 'सरकार फाल्ने कि बस्ने भन्ने विषय नै हैन अहिले राष्ट्रपतिको विषय हो।'
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। उक्त दिन राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ। सोहीअनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। राष्ट्रपतिमा ओलीले अड्डी कसेपनि माओवादीले रोक्न चाहेका कारण अहिले सत्ता समीकरण नै बदलिएको छ। माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरिसकेको छ।