PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

देउवा, प्रचण्ड, नेपाल र महन्थसँग हातेमालो गर्दै जब पौडेल पसे उम्मेदवारी दर्ता गर्न … 

देउवा, प्रचण्ड, नेपाल र महन्थसँग हातेमालो गर्दै जब पौडेल पसे उम्मेदवारी दर्ता गर्न … 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनिवार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा आफ्नो नाम सर्वसम्मत गर्ने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मक्ख देखिए। निर्णयपछि सानेपामा पौडेलले आफूलाई कांग्रेसबाट प्रेरणा मिलेको र अरु पार्टीबाट सहानुभूति पाएको बताएका थिए।

पौडेलको अनुहारको चमक नयाँ बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दर्ता गर्न पुग्दा पनि उस्तै थियो। अझ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, आफ्नै सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले हातमा हात मिलाएर अघि बढ्दा बढी खुसी देखिन्थे पौडेल। 

लामो समयको रस्साकस्सीपछि ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी मनोनयन गरेका हुन्। फोटोमा पनि यो साथ र एकता प्रदर्शन गर्दै दलका शीर्ष नेताहरु उम्मेदवारी दर्ता गर्न संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हातमा हात मिलाएर अघि बढेको देखिन्छ। अझ राष्ट्रपतिको उम्मेदवारमा चर्चामा रहेका नेपाल र ठाकुरको साथले पौडेलको मन कति गदगद् होला? त्यो पौडेललाई नै थाह होला। कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई दायाँबायाँ उभ्याएर पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरिसकेका छन्।

पौडेल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत ८ दलको समर्थनमा उम्मेदवार बनेका हुन्। अहिलेको समीकरण हेर्दा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क छन् तर यसको औपचारिक निर्णय भने फागुन २५ गतेको मतगणनापछि नै हुनेछ। किनकि उनीविरुद्ध दोस्रो ठुलो दल एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेवार उभ्याएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell