काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन्। राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै ओलीले पत्र लेखेका हुन्। 'तपाईँको पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्सका साथ हार्दिक अनुरोध गर्दछु,' पत्रमा भनिएको छ।
एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपाललाई नै ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए। तर उक्त प्रस्तावमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत नभएपछि एमालेले नेम्वाङलाई राष्ट्रपतिमा अघि सारेका छन्। तर कांग्रेस-माओवादी सहितको ८ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलका समर्थक समेत रहेका नेपाललाई ओलीले पत्र लेखेरै आग्रह गरेका हुन्। एकीकृत समाजवादीलाई पार्टी नै नभएको भन्दै चर्को आलोचन गर्ने ओलीले नेपाललाई यसपटक भने औपचारिक पत्र नै लेखेका हुन्। शनिवार बसेको एमालेको सचिवालयको बैठकले कांग्रेस बाहेकका दललाई पत्र लेखेरै राष्ट्रपतिमा सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको थियो।