PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

अर्जुन र देवको सानदार शतक, सिंगापुरपछि नेपालले कुवेतलाई हरायो



पहिलोपोस्ट

अर्जुन र देवको सानदार शतक, सिंगापुरपछि नेपालले कुवेतलाई हरायो
फाइल फोटो क्यान

काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। यू १९ पुरुष एसिया कप क्रिकेटको छनोट अन्तर्गत आज मलेक क्रिकेट मैदान अजमनमा सम्पन्न खेलमा नेपालले कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा दुईवटा शतकको सहायतामा ७ विकेट गुमाएर ३४३ रन बनाउन सफल भयो। नेपाललाई विशाल स्कोरतर्फ डोहोर्‍याउन कप्तान देव खनालले सर्वाधिक १२५ रन बनाउँदा अर्जुन कुमालले १०८ रन बनाए। त्यस्तै विशाल विक्रम केसीले २३, दीपक प्रसाद डुम्रेले २०, दीपक बोहोराले १९ रन बनाए। बलिङतर्फ कुवेतका अर्स साहिल काज्मी र हेन्री थोमसले समान २ विकेट लिँदा हैवर अली र जय महेशकुमार मेहेताले समान १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको कुवेत ३०.५ ओभरमा १०० रन बनाएर अलआउट भयो। कुवेतका लागि ज्युड क्रिस्टोफर सल्दनाले सर्वाधिक २६ रन बनाउँदा युसुफ मोहम्मदले १९ तथा हेट किशोरभाइ हिस्नुले १६ रन बनाए।

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले ६ विकेट लिँदा दिपेश कणेल र हेमन्त धामीले समान २ विकेट लिए।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि शुक्रवार सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको फराकिलो जित निकालेको थियो। लगतारको जितले नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो बनाउँदै लगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell