PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?



प्रकाश भण्डारी

८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते आक्रोश पोखे -नेपाली कांग्रेसले ‘ढोक्सा’ थाप्यो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि के कम? पिँजडासँग तुलना गरिहाले ओलीलाई। ढोक्सा भर्सेस पिँजडा जुहारी हेर्न र सुन्न लायकै रह्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा थुनेको आरोप लगाउन भ्याएका थिए विश्वप्रकाशले। पिँजडा कसिलो थियो कि खुकुलो? ओलीले हिसाब गरिरहेकै होलान् बालकोटमा। तर कांग्रेसको ढोक्सा प्रभावकारी नै देखियो -एमाले र माओवादी सहकार्य टुटाउन, ८ दलीय गठबन्धन बनिसकेको छ राष्ट्रपतिका लागि।

ओलीले हदैसम्मको प्रयास नगरेको होइनन्, ८ दलीय गठबन्धन बन्नै नदिन। कहिले प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले ‘डिप लभ’को सन्देश दिए त कहिले बालकोटको बार्दलीमा हात हल्लाए।

तारन्तार बालकोट र बालुवाटारका बैठकले पनि प्रचण्डलाई काबुमा राख्न सकेनन् ओलीले। बालकोटको बार्दलीमा हात हल्लाएकोदेखि सुन्तला खाँदै घाम तापेर गरेका वार्ता विफल भए।

प्रचण्डसँग सहकार्य टुटेको सार्वजनिक घोषणा ओलीले गरेका छैनन्, तर जनाउ फागुन ११ मै दिए -हिंसाको धङ्धङी चाहिँ अझै पनि छ जस्तो देखिन्छ। भोलिपल्टै माघ १२ गते औपचारिक रूपमा ओली -प्रचण्ड सहकार्यमा ब्रेक लाग्यो।

शनिबार एमालेको सचिवालयको बैठकले उपाध्यक्ष सुवास नेम्वाङलाई रणनीतिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनायो। लगतै वानेश्वरको संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङले उम्मेदवारी दर्ता गराए। सत्ता समीकरण टुटेका कारण एमालेका नेता एक्लै परे बानेश्वरमा उम्मेदवार दर्ता गर्दा। किनभने फागुन १२ मा बनेको ८ दलीय मोर्चाबाहिर रहेका राप्रपा र रास्वपाले पनि नेम्वाङलाई समर्थन र प्रस्ताव गरेनन्।

समीकरणमा आएको बदलावले नेम्वाङ मलिन देखिए भने ओली रक्षात्मक। प्रचण्डसँगको सहयात्रामा बिराम लागे पनि ओलीले प्रचण्डमाथि प्रहार भने गरेनन्, बरु कूटनीतिक सुनिए।

‘वर्तमान सरकार गठनका भएकै बेला पुस १० गते नै टुङ्गो लागिसकेको हो। हामीले डिस्क्लोज नगरेको मात्रै हो। आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं,’ ओलीले पुस १० को सहमति खुलाउँदै भने।

ओलीलाई कतिसम्म अप्ठेरो परिसकेको थियो भने उनले अघिल्लै दिन बनेको ८ दलीय गठबन्धनलाई स्विकार्न समेत सकेनन्, बरु अनौठो दाबी गरे, ‘८ दलीय गठबन्धन पनि छैन। गठबन्धनको निर्णय पनि छैन। हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाउनुभएको थियो। उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानी भइरहेकै छ। हामीलाई बोलाइएको थियो हामी गएका थियौं भन्नुभएको छ साथीहरूले। प्रचण्डजीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने भन्नुभयो कसरी भन्नुभो? अरूको त्यस्तो कुरा छैन हामीले जानकारी पाएसम्म।’ ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन कार्यालयमा ओली त्यति सहज मानिरहेका थिएनन्। किनकि पुस १० पछि साथमा देखिने माओवादी लगायत ७ दलका नेता उनको छेउमा थिएनन्। माहोल बन्दा मुडमा आइहाल्ने ओलीका लागि सुखद् बन्ने स्थिति नै थिएन। किनभने ८ दलीय समीकरण अनुसार कांग्रेसका रामचन्द्र पौडेलको जित निश्चित छ।

तामझाम बिनै वानेश्वरमा इन्ट्री गरेका थिए ओलीले। शनिबार ओली रक्षात्मक र नेम्वाङ मलिन देखिँदा खुसी देखिने पालो कांग्रेस नेताको थियो। जो ठिक विपरीत छ, पुस १० कांग्रेसमा छाएको सन्नाटाभन्दा। एमाले निराश बनेको छ राष्ट्रपतिको निर्वाचनमा।

एमालेपछि पालो ८ दलीय समीकरणको थियो। प्रचण्डको इन्ट्री नै अरू बेलाको भन्दा फरक। उनी कांग्रेसका नेतासँग हातेमालो गरेर पुगे। राष्ट्रपतिका उम्मेदवार र कांग्रेस सभापति शेरबहादुर देउवालाई डोर्‍याइरहेका थिए प्रचण्डले। लोसपाका अध्यक्ष महन्थ ठाकुर र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पनि साथले मख्ख देखिए रामचन्द्र। बानेश्वरमा फागुन १३ गते मख्ख देखिएका रामचन्द्रको बोली पुस १० मा कारुणिक सुनिएको थियो - हाम्रो हातमा केही रहेन सबै सकियो।

आफ्नै बचनको विपरीत शीतलनिवासको रिहर्सलमा छन् यति बेला रामचन्द्र। उनी उत्साहित नहुन पनि किन? उनले यसअघि कांग्रेसको सभापतिको उम्मेदवारीबाट पछि हट्दा आँसु नै खसालेका थिए भने प्रधानमन्त्रीको निर्वाचनमा पटक-पटक प्रचण्डसँग पराजित भएर संसदीय राजनीतिमा असफलताको पगरी उनको नाममा गुथिएको थियो।

निर्वाचन आयोगका कर्मचारीको ठिक अघि राखिएको कुर्सीमा पनि सबैभन्दा पहिला पुगे रामचन्द्र, अरू नेताभन्दा।

बाहिरिने बेला पौडेलले पनि ‘इमोश्नल एप्रोच’ गरे ओलीलाई। उनले ओलीसँगको पुराना दिनलाई सम्झाएका थिए। ‘ओलीजी पनि मसँग जेलमा धेरै समय बस्नु भएको हो। पुरानो साथी हो। राष्ट्रपति सबैको साझा पद बनाउने उहाँले योगदान गर्नुहोला भन्ने विश्वास गरेको छुँ,’ पौडेलको आग्रह थियो।

लगतै नयाँ गठबन्धनका नेता महेन्द्र नारायण निधिको १०१औँ जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सहभागी भए।

उक्त कार्यक्रममा प्रचण्डले ओलीसँगको सहकार्यलाई ‘तितो अनुभव’को संज्ञा दिए। पौडेललाई आफूले विश्वास गरेको पात्र भएको प्रचण्डको भनाइ थियो। ओलीसँगको यात्रा कठिन भएको बताएका प्रचण्डले फेरि पनि उतारचढाव आउने टिप्पणी भने गरेका छन्। प्रधानमन्त्रीको ५ वर्षे कार्यकाल देउवा र नेपालसँग सेयर गरेका प्रचण्डले सायद त्यसैको संकेत गरेका होलान् जसरी ओलीले नेकपाकालीन सरकारमा प्रचण्डलाई प्रधानमन्त्री दिएनन् र अहिले आफैँले एमालेसँगको सहकार्य तोडे।

‘राजनीतिमा उतारचढाव हुन्छन्। परिवर्तनका पक्षधरलाई केन्द्रित गरेर हामी इतिहासलाई डोर्‍याउन सक्छौँ कि सक्दैनौँ चुनौतीपूर्ण छ,’ प्रचण्डको भनाइ थियो।

गठबन्धनको जन्म भएकै भोलिपल्ट प्रचण्डले किन यात्रा चुनौतीपूर्ण भने होलान्? २५ गतेसम्म के समीकरणमा फेरि बदलाव आउला? पुस १० को बिहानसम्म बालुवाटारमा म्याराथन वार्ता गरेका प्रचण्ड २ ओलीको दैलोमा पुगे। २ महिनाकै प्रधानमन्त्री यात्रामै प्रचण्डले छलाङ भने मारिरहेका छन्, कहिले ती प्रचण्डलाई फाइदाजनक बनिरहेका छन् त कहिले तिनैको ‘बुमरेङ इफेक्ट’ बेहोरिएका छन् प्रचण्ड।

बाँकी कार्यकालमा प्रचण्डले कति उतारचढाव ल्याउने हुन् र आफैँले ल्याएको उतारचढावले उनलाई कहिले बालुवाटारबाट खुमलटार पुराउने हो त्यसको भने ठेगान छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell