स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एट्लेटिको मड्रिड १० खेलाडीमा समेटिएको थियो। खेलको ६४ औं मिनेटमा एट्लेटिकोका फर्वाड एन्जेल कोरेरा रियलका डिफेन्डर एन्टोनियो रुडिगरमाथि फउल गरेपछि रेडकार्ड ब्यहोर्दै बाहिरिएका थिए। यसको बावजुत जेसे मारिया गोमिनेजको गोलमा एट्लेटिको मड्रिडले अग्रता बनायो। अर्कोतर्फ घरेलु टोली निर्धारित समय सकिन ५ पाँच मिनेटबाँकी छँदा गोल फर्काउँदै हार टार्न सफल भयो। रियलका लागि ८५ औं मिनेटमा अल्भारो रोड्रिगुइजले लुका मोड्रिचको पासमा गोल गर्दै हार टार्न सफल भयो।
रियल मड्रिडले घरेलु मैदानमा अंकबाँडेसँगै शीर्ष स्थानमा बार्सिलोनाको बर्चस्व भने बढेको छ। रियल मड्रिड २३ खेलबाट ५२ अंक जोड्दै दोस्रो स्थानमा रहँदा त्यो भन्दा एक खेल कम खेलेको बार्सिलोना ५९ अंक जोड्दै शीर्षस्थानमा छ। एट्लेटिको मड्रिड भने २३ खेलबाट ४२ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।