बलिउड अभिनेता अक्षय कुमारका फिल्महरु बक्सअफिसमा फ्लप भइरहेका छन्। गत शुक्रवारबाट रिलिज भएको उनी अभिनित ‘सेल्फी’ले पनि कमजोर व्यापार गरिरहेको छ।
सोही विषयमा भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अक्षयले लगातार फिल्म फ्लप हुनुमा आफ्नो दोष रहेको बताएका छन्। उनले भने, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन्। यसमा मेरो बाहेक कसैको दोष छैन। दर्शक बदलिदै गएकाले अब मानिसहरु फिल्ममा अर्कै कुरा हेर्न चाहन्छन्। यसका लागि हामीले पनि परिवर्तन गर्नुपर्छ, जसको लागि म सक्दो प्रयास गरिरहेको छु।’
साथै, फिल्म फ्लप हुनलाई अक्षयले अलार्मजस्तै भएको बताएका छन्। ‘जब तपाईका फिल्महरू लगातार फ्लप हुन्छन् भने यो तपाईको लागि परिवर्तनको अलार्म हो। यो १०० प्रतिशत मेरो गल्ती हो। फिल्म राम्रो चल्दैनन् भने तपाईं दर्शक वा अरू कसैलाई दोष दिन सक्नुहुन्न।’
उनले फिल्म असफलताको श्रृंखलाबारे समेत खुलासा गरे, ‘यो पहिलो पटक होइन। मैले आफ्नो करियरमा १६ वटा फ्लप दिएँ। एक पटक मेरा ८ फिल्म लगातार फ्लप भए। अहिले मेरा ३/४ फिल्म लगातार फ्लप भएका छन्। फिल्म नचल्नुमा मेरो गल्ती हो।’
सन् २०२१ मा रिलिज भएको उनी अभिनित ‘सूर्यवंशी’ हिट भएको छ। त्यसपछि रिलिज भएका सम्राट पृथ्वीराज, रक्षाबन्धन, रामसेतु, बच्चन पाण्डेदेखि सेल्फी सम्मका फिल्महरु बक्सअफिसमा कमजोर सावित भए।