काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नाममा हिंसाको राजनीति शुरु गरेको आरोप लगाएका छन्। राष्ट्रपति निर्वाचनअघि सत्ता समीकरणमा गढबढी आएपछि ओलीले पछिल्लोपटक प्रचण्डमाथि प्रहार थालेका हुन्। बिहीवारमात्र प्रचण्डको सार्वजनिक विरोधमा उत्रिएका ओली काठमाडौंको जमलस्थित नाचघरमा शहीद, घाइते तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा पनि पुन: प्रचण्डमाथि खनिएका हुन्।
'जनयुद्धका नाममा प्रचण्डले हिंसाको नाममा अभियान सुरु गर्नुभयो। जनता तर्फबाट र राज्यतर्फबाट थुप्रैको हत्या भयो। गिरफ्तार गर्ने हत्या गर्ने त्यहि कुरा लमजुङका एक जना शिक्षकको कुरा होस अथवा खोटङका शिक्षको कुरा होस। अत्यान्तै निर्मम ढंगले हत्या गर्ने काम भए,' ओलीले भने, 'जो नेपालका लागि कसैलाई दुखला कसैलाई नदुख्ला तर नेपाल देशलाई दुख्छ। त्यसको घाउ अझै पनि छ। त्यसको सञ्चालक कार्यकारी ठाउँमा छन्। लगातार कमसेकम संविधान निर्माण देखि नै सरकारमा छँदै छ।'
ओलीले प्रचण्ड धोकेबाज भएकोतर्फ इंगित गर्दै सबै ठाउँमा धोकैधोकाको राजनीति भएको आरोप लगाए। 'प्रधानमन्त्री भएको ३ पल्ट भयो सरकारमा भएको कति भयो? ६२/६३ फछी कोहि पनि त्यति लामो समय सत्तामा छैन। जो जता मिलेर भए पनि सत्तामा। कसले कचौरामा कति दुधभात दिन्छ खुत्रुक छिमेकीका घरमा सर्ने। त्यो शिलशिला जारी नै छ,' ओलीले भने, 'परिवारका मान्छे धनी नै होलान्। भान्जाभान्जी, छोरीज्वाइ, भाइभतिजा राम्रै ठाउँमा पुगेका होलान्। तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्र सम्झनु हुन्छ कि जनयुद्ध पनि सम्झनु हुन्छ? कसकाविरुद्ध किन जनयुद्ध चलाउनु भएकोथियो? देशभक्त सरकार लोकतन्त्रका निम्ति काम गरौं। जनताका समस्या समाधान गर्नेगरी काम गरौं। आफ्ना स्वार्थमा मात्रै केन्द्रित हुने होइन भनेर प्रयास गरियो। तर पुष्पकमल दाहालजीको बेग्लै छ। बोल्नुहुन्छ अर्कै, गर्नुहुन्छु बेग्लै। हेर्नुहुन्छ देब्रेपट्टी, तर दायातिर गर्नुहुन्छ। मलाई छक्याउने भाषा। उहाँले छक्याइरहनुभयो। उहाँले चक्कु लिएर बस्नु भएको थियो। यो चुक्कु होइन फूल हो भन्नुभयो। तपाईँले भनेपछि फूल नै हो भने। मेरो आँखाले धोका खाएको थिएन। धोका दिन उहाँ अप्ठेरो मान्नु हुन्न। शहिदलाई धोका दिनु भो। मलाई धोका दिन के ठुलो भयो।'